विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिप्परको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को १ क २९१७ नम्बको टिप्परले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई मङ्गलबार राति ९ः३० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
टेम्पो चालक ग्रामथान गाउँपालिका बस्ने ४५ वर्षीय बाबुुराम सरदार र उनका छ वर्षीया नातिनी आरोही सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले बताउनुभयो । घटनापछि आक्रोशित स्थानीयवासीले टिप्परमा आगजनी गरेका छन् । दुर्घटना गर्ने टिप्पर चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, महोत्तरीको अति व्यस्त रहने महोत्तरी–धनुषालाई जोड्ने भिठ्ठामोर–जलेश्वर–जनकपुर सडकमा टिपरले ठक्कर दिएको मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
मङ्गलबार साँझ जनकपुरबाट जलेश्वरतर्फ बीआर३०एक्स ७७०२ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा जनकपुरतर्फ जाँदै गरेको ना १ क ५८२६ नम्बरको टिप्परले ठक्कर दिँदा घाइते भएका महोत्तरीको सम्सी गाउँपालिका–५ का ३५ वर्षीय कालीचरण यादवको जलेश्वर अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । यादवको कम्मरमुनिको भाग क्षतविक्षत भएको थियो ।
सो सडकको महोत्तरीमा पर्ने पिपरा गाउँपालिका–४ मा मङ्गलबार साँझ ६ बजेतिर भएको दुर्घटनालगत्तै यादवलाई उपचारका लागि जलेश्वर अस्पताल पुर्याइएको थियो । अस्पतालमा सघन उपचारकै क्रममा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
दुर्घटनामा परेका दुवै सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
रासस