कोरोना भाइरसको आतंक बढ्दै गएपछि इरान सरकारले ५४ हजार कैदीबन्दीलाई जेलमुक्त गरेको छ ।
संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै इरानले अस्थायी रुपमा कैदीहरुलाई रिहा गरेको हो । उनीहरु सबैलाई कोरोनाको परिक्षण गरेर छाडिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
तर, इरानले सुरक्षासँग सम्बन्धित मामिलामा पाँच वर्षभन्दा बढी सजाय तोकिएका कैदीहरूलाई भने रिहा नगरेको बीबीसीले जनाएको छ ।
इरानमा अहिलेसम्म कोरोनाको संक्रमणबाट ७७ जनाको मृत्यु भइसकेको छ भने २३ सय ३६ जनामा संक्रमण भएको पुष्टि भएको छ ।
इरानमा उपराष्ट्रपति, उपस्वास्थ्यमन्त्रीसहित २३ जना सांसद्मा समेत कोरोनाको संक्रमण देखिएको छ । कयौं सरकारी अधिकारीलाई समेत कोरोनाभाइरसको संक्रमण देखिएको बीबीसीले जनाएको छ ।
इरानबाहेक लेबनान, कुवेत, बहराइन, इराक, ओमन, कतार र संयूक्त अरब इमिरेट्सलगायतका मध्यपूर्वी देशमा कोरोना संक्रमित भेटिएका छन्।
अहिलेसम्म विश्वभर ९० हजार बढी मानिसहरूलाई कोरोना भएको पुष्टि भइसकेको छ भने ३१ सय जनाको ज्यान गइसकेको छ।