बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्वका ४६ करोड मानिसमा श्रवण समस्या, नेपालमा तथ्यांकै छैन

विश्वका ४६ करोड मानिसमा श्रवण समस्या, नेपालमा तथ्यांकै छैन

श्रवण समस्या यही क्रममा बढ्दै गएमा सन् २०५० सम्ममा १ अर्ब मानिसमा श्रवण समस्या हुने अनुमान छ ।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं– ‘जीवनका लागि श्रवण’ भन्ने नाराका साथ आज (मंगलबार) विश्व श्रवण दिवस मनाइएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वभर ६.१ प्रतिशत मानिसमा श्रवण समस्या छ ।

साढे तीन करोड बालबालिका र ३४ करोड वयष्क मानिसमा श्रवण समस्या रहेको संगठको भनाइ छ । त्यस्तै ६५ वर्षमाथिका एक तिहाइमा श्रवण समस्या छ । श्रवण समस्या यही क्रममा बढ्दै गएमा सन् २०५० सम्ममा १ अर्ब मानिसमा श्रवण समस्या हुने अनुमान छ ।

श्रवण समस्या भन्नाले कम सुन्ने, सुन्नमा समस्या पर्ने वा पूर्णरुपमा बहिरोपना हुने बुझिन्छ । बहिरोपन अपांगतामध्ये प्रमुख अपांगतामा पर्छ। विश्वमा हरेक दिन ४ देखि ६ जना बहिरोपनासहित बच्चा जन्मिन्छन्।

विकसित देशहरुमा जन्मजात २ देखि ४ प्रतिशत मानिसमा श्रवण समस्या छ भने नेपालमा ३ देखि ५ प्रतिशत मानिसमा श्रवण समस्या छ । तर ६० प्रतिशत श्रवण समस्याको समाधान गर्न सकिने नाक, कान, घाँटी रोग विषेशज्ञ डा. योगेश न्यौपाने बताउँछन् ।

नेपालमा तथ्यांक छैन

नेपालमा श्रवण समस्या कति मानिसमा छ भन्ने यकिन तथ्यांक कुनै निकायसँग छैन । २६ वर्षअगाडि सन् १९९३ मा चिकित्सकको एक टोलीले श्रवण समस्याको विषयमा अध्ययन गरेको थियो । त्यतिबेला नेपालमा दुई तिहाई स्कुले विद्यार्थीमा सुन्ने क्षमतामा समस्या थियो ।

काठमाडौंका स्कुलका ३० हजार विद्यार्थीमा उक्त अध्ययन गरिएको थियो । त्यतिबेलै विभिन्न हेल्थ क्याम्पमा गरिएको अध्ययनमा पनि दुईतिहाइ मानिसमा श्रवण समस्या भएको पाइएको थियो ।

कति नेपालीमा श्रवण समस्या छ भन्ने विषयमा यकिन तथ्यांक निकाल्न जरुरी भएको चिकित्सकरु बताउँछन् । नेपालमा ईएनटी (कान, आँखा, घाँटी) का सर्जन १९५ जनामात्रै रजिस्टर छन् ।

विश्व स्वास्थ्य संगठनले पहिलो पटक आगामी मार्चमा वर्ल्ड हियरिङ रिपोर्ट निकाल्दै छ। वायु तथा ध्वनि प्रदूषण, कोलाहल र विविध संक्रमणका कारण श्रवण शक्तिमा क्रमिक ह्रास आइरहेको डा. प्रकाश बुढाथोकी बताउँछन् ।

अत्यधिक ध्वनि सहितका कलकारखाना, विमानस्थल वरपरका बासिन्दा, अनियन्त्रित सार्वजनिक सवारीका ध्वनि, लामो समय र ठूलो आवाज सहितको एअरफोन, चर्काे आवाज सहितको मनोरञ्जन र कानका संक्रमणहरु जस्तैः दादुरा, गलगाँड, रुवेलाले श्रवण शक्तिमा ह्रास ल्याउने र क्रमशः बहिरोपना निम्त्याउने गरेका छन्।

क्षयरोग र औलोविरुद्धको औषधि, जन्मजात, चोटपटक, पिटाइ, कान कोट्याउने, विभिन्न झोल कानमा राख्ने, प्रदूषित पानीमा पौडी खेल्ने, कानको हेरचाह नगर्नाले पनि श्रवण क्षमतामा असर गर्ने चिकित्सक बताउँछन् ।

सामान्य बोलिचालीमा ४० डेसिबल ध्वनि निस्किन्छ । ९० डेसिबलको ध्वनि असरदार हुन्छ भने १२० डेसिबलको ध्वनिलाई कर्कश मानिन्छ । हेयर ड्रायरको ९५, मोटरसाइकल र रेलको आवाज ९५ देखि १०५, सवारी साधनको हर्न तथा साइरन १२० देखि १५० डेसिबलको हुन्छ।

८५ भन्दा बढी डेसिबलको आवाजले श्रवण शक्तिमा ह्रास गराउने डा. बुढाथोकी बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १ अर्ब २ करोड अर्थात् १४ प्रतिशत युवा ध्वनि प्रदूषणको जोखिममा छन्।

रुघाखोकी लागेमा मध्य कान र नाकको पछाडि भाग जोड्ने नली बन्द हुन जान्छ। यो नली लामो समयसम्म बन्द भइरहेमा मध्य कानमा असर पर्छ। यो समस्या बच्चामा बढी देखापर्ने भएकोले बच्चाहरुलाई रुघाखोकी लाग्नबाट बच्नको लागि आमाको दूध खुवाउने, दूध खुवाउँदा बच्चाको टाउको उठाएर खुवाउने, घर वरिपरि पाइने ताजा खानेकुरा खुवाउने र जंक फुड नखुवाउन चिकित्सकले सुझाव दिएका छन् ।

कसरी बच्ने ?

–मोबाइल वा इयरफोन धेरै समयसम्म प्रयोग नगर्ने । यसबाट निस्केको तरंगले भित्री कानमा असर पर्छ।
– कानको वरिपरि चोट लागेमा वा कान कोट्याउँदा कानको जाली फुट्ने सम्भावना हुन्छ। त्यसैले कान कोट्याउने बानी हटाउनु पर्छ ।
–कान पाकेमा जँचाउनुपर्छ ।
–चर्को ध्वनि आउने ठाउँमा काम गर्दा एयरप्लग लगाउनु पर्छ।
–गर्भवती भएको बेला आफूखुसी औषधि सेवन गर्नु हुँदैन ।
–गर्भवतीले जाँडरक्सी र चुरोट सेवन गर्नु हुँदैन।
–कानको श्रवण कम भएमा छिट्टै उपचार गर्नुपर्छ ।
–तौल कम भएका, समयपूर्व जन्मिएका, सघन कक्षमा राखिएका बच्चालाई जतिसक्दो छिटो जाँच र उपचार गर्नुपर्छ।

प्रकाशित: Mar 03, 2020| 11:16 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।