इटहरी– दक्षिण सुनसरीका २० वर्षे मुकेशकुमार पाल तराईको भेडा पाल्ने समुदायका कान्छा भेडीगोठाला हुन् । देवानगञ्ज गाउँपालिका–१ मदरशाको पाल समुदाय भेडापालनका लागि प्रख्यात छ । ‘हाम्रो देवानगञ्ज र हरिनगरमा ३५ जना छन् भेडागोठाला । सबैभन्दा कान्छो मै छु,’ मुकेशले सुनाए ।
दुई दाजुभाइमा जेठा मुकेशको भेडीगोठालाको यात्रा हजुरबासँग जोडिन्छ । मुकेशका बुबा खेतीपाती गर्छन् । मुकेशलाई भने हजुरबाले आफ्ना भेडाहरु दिएका थिए । हजुरबाको मृत्यु भइसकेको छ ।
युवाकालमा सीमापारि अररिया, फारविसगञ्ज जस्ता क्षेत्रमा भेडागोठाला भएका हजुरबाले नेपाल आउँदा केही भेडा लिएर आए । त्यही भेडाको उत्पादन नै अहिलेका नाति पुस्ताका मुकेशले चराउने भेडा हुन्। ‘हजुरबाले ल्याएकै भेडा हुन् यी । कुनै किनेको छैन, बरु बेचियो,’ मुकेशले सुनाए ।
हजुरबाले दिएका करिब २ सय भेडामध्ये अहिले मुकेशसँग १४० वटा छन् । यिनै भेडाको आम्दानीले उनी विराटनगरको नयाँ बजारमा डेरामा बस्ने आफ्ना भाइलाई भेटनरी शिक्षा पढाँउछन् । आमा र बुबालाई खर्चबर्च दिन्छन् । वर्षमा सबै खर्च कटाएर ५ लाखसम्म बच्ने उनले सुनाए ।
भेडाको मासु, ऊन, घिउ सबै बिक्री हुने भएकोले राम्रो कमाइ भएको मुकेश बताउँछन् । ‘एक केजी भेडाको मासु एक हजार ५० र पोथीको आठ सयले बिक्छ, ऊन ५ सय रुपैयाँ किलो बिक्छ,’ आफ्ना भेडाबाट हुने आम्दानीबारे पालले भने, ‘घिउ प्रतिएमएल दश रुपैयाँ लिन्छु ।’
मासु, घिउदेखि ऊनको माग धरान, विराटनगनर र काठमाडाैंसम्मै छ । दूध भने बेच्दैनन् मुकेश । बाजेको पालादेखि नै घिउ बेच्ने चलन नरहेको र आफूले पनि त्यसैलाई निरन्तरता दिएको उनले सुनाए ।
राम्रो आम्दानी हुने भेडापालन सजिलो भने छैन । जाडोमा बाहिरै पाल टाँगेर सुत्नुपर्छ । गर्मी र वर्षामा पनि भेडासँगै हिँड्नुपर्छ । अहिले त अर्को तनाव पनि थपिएको छ– घट्दो चरन क्षेत्र ।
इनरुवा, लौकही, हरिपुर, भन्टाबारी, भुटाहा, हरिनगर, झुम्कादेखि इटहरीसम्मै चरन क्षेत्र थियो मुकेशका हजुरबाको समयमा । अहिले चरन धेरै नै घटेको उनी बताउँछन् । प्लटिङ बढ्न थालेपछि चरन क्षेत्र घटेको हो ।
चरन क्षेत्र घट्नुको अर्को कारण सार्वजनिक जग्गा व्यक्तिले कब्जा गर्नु पनि भएको मुकेशले बताए । ‘पहिले ऐलानी जग्गा खाली हुन्थ्यो, चर्ने ठाउँ हुन्थ्यो । अहिले जमिनदारले ऐलानीमा पनि दाल फलाएर घेराबारा गर्छन् । चर्ने ठाउँ नै पुग्दैन,’ उनले भने।
चरन क्षेत्र घट्न थालेपछि भेडा चराउने जनशक्ति धेरै चाहिने उनले सुनाए। ‘सीमापारि भारतमा एकैजनाले ४ सय भेडा हेर्न सक्छन् । यता त्यसको आधा पनि दुःखले मात्रै सकिन्छ । राम्रो कमाइ भए पनि चर्ने ठाउँ नहुँदा भेडा पाल्न गाह्रो छ । हाम्रो पुख्र्यौली पेशा मर्दैछ,’ मुकेशको चिन्ता छ ।
कक्षा ९ सम्म पढेका मुकेशले थपे, ‘जानेको काम यही हो । अबको दुई–तीन वर्षमा भेडा चराउने ठाउँ हुँदैन । बाध्य भएर पेशा छाड्नुपर्छ ।’