काठमाडौं– भित्री सडकका खाल्डाखुल्डी नपुरिँदा काठमाडौं महानगरपालिका (कामपा)लाई ब्रुमर सञ्चालन गर्न समस्या परेको छ।
आठ मिटर चौडा भएका सडक कामपा र अन्यको अधिकार सडक विभाग मातहतमा पर्छ। एक वर्षदेखि कामपाले सडक सफा बनाउन नियमितरूपमा सात ब्रुमर सञ्चालन गर्दै आएको छ। त्यसको प्रभाव ठूला सडकमा मात्रै देख्न पाइन्छ।
कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सहायक सडकमा खाल्डा नपुरिँदा काठमाडौं धुलोमुक्त हुन सकेको छैन।
कामपाले नियमित धुलो सफा गरिरहेको छ। प्रहरीले ट्राफिक व्यवस्थापन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वाधार विकास र सहरी विकास मन्त्रालयले शहरको सौन्दर्यकरणका साथै अन्य योजना सञ्चालन गरिरहेकाले पछिल्लो समय उपत्यका सुन्दर देखिन थालेको छ।
मुख्य सडकमा खाल्डाखुल्डी देखिँदैन। खाल्डा पुरेर चिल्ला र आकर्षक सडक बनाइँदै छ। ठाउँठाउँमा रङरोगन लगाएर सौन्दर्यीकरण भइरहेको छ। अहिलेको अवस्था नै पर्याप्त नभए पनि उपत्यकाको सडकमा सकारात्मक सुधार आएको छ।
सरकारले उपत्यका भित्रिने शाखा सडकको स्तरोन्नतिसमेतलाई प्राथमिकता दिएर काम गरिरहेको छ । पछिल्लो सय दिनमा मात्रै सरकारले काठमाडौं उपत्यकाका नौ हजार पाँच सय खाल्डाखुल्डी पुरेको छ। यद्यपि भित्री र शाखा सडकमा समस्या यथावत छ।
चालू आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले उपत्यकाको ८५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसमेत राखेको छ। उपत्यकाको कोरिडोरलगायत क्षेत्रको स्तरोन्नति र कालोपत्रको प्रगति क्रमशः भएको पाइन्छ। तर, साना सडकको मर्मतसम्भारका लागि सम्बन्धित भएका निकायले त्यति ध्यान नदिँदा ठूला सडकमा पनि त्यसको असर परेको कामपाले जनाएको छ।
मुख्य सडक पनि केही वर्षअघिसम्म धुलाम्मे देखिन्थ्यो। मोटरसाइकल चालक र पैदलयात्री धुलोको ठूलो मारमा पर्थे। सरकारी कर्मचारी सडक यात्रामा एउटा पोशाक र कार्यालयमा अर्को पोशाक लगाउन बाध्य थिए। अहिले मुख्य सडकमा धुलो केही कम भएको छ।
रासस