जनकपुरधाम– विप्लव समूह निकट अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्षलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ । प्रहरीले धनुषाको मिथिला बिहारी नगरपालिका–३ बस्ने ५० वर्षीय गौरी नारायण मण्डललाई पक्राउ गरेको हो ।
मण्डल विप्लव समूहको शिक्षक संघका केन्द्रीय उपाध्यक्ष रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अवधेशकुमार यादवले जानकारी दिएका छन् ।
मण्डललाई धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ सखुवनी खोला नजिकबाट प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक यादवले बताए । यसअघि शिक्षक पेशमा आवद्ध मण्डल हाल अवकाश पाइसकेको उनले जानकारी दिए ।
प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटमा मण्डलको संलग्नता देखिएपछि प्रहरीले उनलाई खोजीको सूचीमा राखेको थियो । मण्डलबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
महेन्द्रनगर बम विस्फोटको घटनामा प्रहरीले हालसम्म आधा दर्जनभन्दा बढीलाई पक्राउ गरिसेको छ ।