बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश–२ को नामकरण र स्थायी राजधानी टुंगो लगाउन २३ गते मतदान

प्रदेश–२ को नामकरण र स्थायी राजधानी टुंगो लगाउन २३ गते मतदान

प्रदेशको स्थायी राजधानीबारे सबै दलहरु करिब करिब एकमत देखिएपनि नामकरणमा सहमति हुनसकेको छैन । प्रदेश नामकरणको सवालमा सबै दलहरु आ–आफ्नै अडानमा कायम रहेकोले सहमति जुट्न नसकेको हो ।
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

जनकपुरधाम– प्रदेश २ को नामकरण र स्थायी राजधानीबारे टुंगो लगाउन यही फागुन २३ गते प्रदेशसभा मतदान हुने भएको छ । फागुन २२ गते बस्ने प्रदेशसभा बैठकमा नामकरण र स्थायी राजधानी टुंगो लगाउने प्रक्रियाबारे सदनलाई जानकारी गराई त्यसको भोलिपल्ट मतदान हुन लागेको हो ।

झण्डै तीन महिनादेखि अवरुद्ध प्रदेशसभा बैठक २२ फागुनमा बोलाइएको छ । फागुन २२ गते अपरान्ह १ बजे बस्ने प्रदेशसभा बैठकमा नामकरण र राजधानी टुंगो लगाउने प्रक्रियाको कार्यसूचीबारे सदनलाई जानकारी गराइने सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

कार्यसूचीबारे सदनलाई जानकारी गराई फागुन २३ गते बिहान ८ बजेदेखि सदनमा नामकरण र राजधानीको प्रस्तावमा मतदान प्रक्रिया सुरु हुने उनले बताएका छन् ।

यादवले प्रदेशको नामकरणका लागि चार र राजधानीसम्बन्धमा तीनवटा प्रस्ताव दर्ता भएकोले सबै प्रस्तावहरुमा मतदान भइ दुई तिहाइ मत ल्याउने प्रस्ताव पारित हुने बताए ।

प्रदेशको स्थायी राजधानीबारे सबै दलहरु करिब करिब एकमत देखिएपनि नामकरणमा सहमति हुनसकेको छैन । प्रदेश नामकरणको सवालमा सबै दलहरु आ–आफ्नै अडानमा कायम रहेकोले सहमति जुट्न नसकेको हो ।

प्रदेशको अस्थायी राजधानी र नामकरणबारे टुंगो लगाउन दलहरुबीच विवाद देखिएपछि सभामुख यादवको संयोजकत्वमा विशेष समितिसमेत बनाइएको थियो । समितिलाई पहिलो बैठक सुरु भएको एक महिनाभित्र सहमति जुटाई प्रस्ताव पेश गर्न भनिएको थियो । समितिले जनकपुरलाई राजधानी तोक्न सहमति जुटाए पनि नामकरणबारे सहमति जुटाउन असफल भएको छ ।

‘प्रदेशको राजधानी जनकपुरलाई तोक्न सबै दलका प्रतिनिधिहरुले समितिमा सहमति जनाइसकेका छन्,’ सभामुख यादव भन्छन्, ‘तर नामकरणबारे सहमति जुट्न सकेन । सहमति भएको राजधानीबारे टुंगो लगाउन पनि प्रक्रियामा जानैपर्ने हुन्छ । त्यसैले फागुन २३ गते मतदानको कार्यसूची तय गरेका छौं ।’ नामकरण र राजधानी दुवै प्रस्तावउपर २३ फागुनमा मतदान भइसकेपछि अन्तिम टुंगो लाग्ने उनको भनाइ छ ।

सत्ता साझेदार समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेशको नामकरण ‘मधेश प्रदेश’ प्रस्ताव गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘जानकी’ र नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’ प्रस्ताव गरेको छ । नामकरणबारे सहमति जुटाउन पटकपटक बसेको समितिको बैठकमा सत्तासाझेदार दुवै दल मधेश प्रदेशबाट पछि हट्न तयार नभएपछि सहमति जुट्न नसकेको हो ।

यद्यपि सहमति जुटाउन प्रतिपक्षी दलहरुले भने आ–आफ्नो प्रस्तावमा लचकता देखाएको थियो । मधेश जोड्दै नेकपाले जानकी–मधेश र कांग्रेसले मिथिला–मधेश नामकरण गर्न सत्तासीन दलहरुलाई सुझाएका थिए । तर दुबै दल प्रतिपक्षी दलले ल्याएको प्रस्ताव अस्वीकार गरेपछि तत्काल प्रदेश नामकरणबारे टुंगो लाग्ने सम्भावना न्यून रहेको बताइएको दलका नेताहरु बताउँछन् ।

प्रदेश २ मा सत्ता पक्ष समाजवादीको ३० र राजपाको २५ सांसद छन् भने प्रमुख प्रतिपक्षी नेकपाको ३२, कांग्रेसको १९ र एकजना रिजवान अन्सारीका पार्टीका एक सांसद छन् ।

प्रकाशित: Mar 02, 2020| 07:59 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।