काठमाडौं- दोस्रोपटक मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपीशर्मा ओली आज (सोमबार) अस्पताल भर्ना हुने भएका छन् ।
बुधबार हुने मिर्गौला प्रत्यारोपणका लागि उनी आज दिउसो त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुँदै छन् ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा डा प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ । नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन् ।
प्रत्यारोपणको तयारीस्वरूप आइतबार प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमा कोलोनोस्कोपी गरिएको छ । प्रत्यारोपण गर्नुपूर्व कोलोनोस्कोपी गरिन्छ । यसअघि उनको मुटुको अवस्था हेर्न मनमोहन कार्डियो सेन्टरमा एन्जियोग्राफी गरिएको थियो ।
ओलीलाई उनकी भान्जीले मिर्गौला दिने उपचारमा संलग्न एक चिकित्सकले बताए । प्रत्यारोपणअघि उनलाई कुनै समस्या आए मिर्गौला दिन नातिनी र भान्जा पनि तयार छन् ।
दुवै मिर्गौला फेल भएपछि ०६४ मा भारतको अपोलो अस्पतालमा ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।