लमजुङ- न्यादी जलविद्युत आयोजनामा कार्यरत चिनियाँ कामदार फर्किएसँगै लमजुङमा कोरोनाको त्रास फैलिएको छ ।
बिनाचेकजाँच उनीहरु नेपाल प्रवेश गरेको भन्दै स्थानीय त्रसित भएका हुन् । लमजुङको उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिका–६ को ठूलीबेंसीमा न्यादी जलविद्युत आयोजनाका निर्माण हुँदै आएको छ ।
सो आयोजनामा प्राविधिक र कामदार गरी ६१ जना चिनियाँ कार्यरत थिए ।
नयाँ बर्ष मान्नका लागि गएका उनीहरु २३ माघभित्र काममा फर्कनेगरी एक महिनाको छुट्टीमा घर गएका थिए ।
ती मध्ये सात जना एकाएक कार्यक्षेत्रमा देखिएपछि गाउँलेमा त्रास फैलिएको छ ।