बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'गोप्य भेला' गर्दै पौडेल पक्ष, तेस्रो धारका सिटौला कता ?

'गोप्य भेला' गर्दै पौडेल पक्ष, तेस्रो धारका सिटौला कता ?

महाधिवेशन घोषणापछि केही मत्थर भएको विवाद सभापति शेरबहादुर देउवाले लामो समयदेखि गठन हुन नसकेका विभाग विस्तार गरेपछि फेरि विवाद चर्किएको छ।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केही समययता आन्तरिक विवादमा छ। महाधिवेशन घोषणापछि केही मत्थर भएको विवाद सभापति शेरबहादुर देउवाले लामो समयदेखि गठन हुन नसकेका विभाग विस्तार गरेपछि फेरि विवाद चर्किएको छ।

महाधिवेशन आउन एक वर्षमात्रै बाँकी छँदा सभापति देउवाले एकलौटी ढंगले विभाग गठन गरको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष रुष्ट बनेको हो ।

महाधिवेशनको मिति तय भइसकेको अवस्थामा पार्टीभित्र आफूलाई सर्वमान्य बनाउन सभापति देउवाले आफूखुसी विभाग गठन गरेको आरोप पौडेल पक्षको छ।

देउवाविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न पौडेल पक्षले आइतबार हेटौंडामा भेलासमेत आयोजना गरेको छ । भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत नेता सहभागी थिए।

पार्टीको ‘बागमती प्रदेशका वर्तमान तथा पूर्व सभापतिहरुको भेला’ नाम दिइए पनि उक्त भेला पौडेल पक्षको रणनीति बनाउने भेला भएको स्रोतको दाबी छ।

भेलाले पार्टी सभापति देउवाविरुद्ध योजनावद्ध ढंगले उत्रने र आगामी महाधिवेशनबाट देउवाको हातबाट नेतृत्व फुत्काउने निष्कर्ष निकालेको स्रोत बताउँछ। देउवाविरुद्ध आक्रामक रुपमा उत्रने र अहिलेदेखि नै जिल्लामा अभियान सञ्चालन गर्ने निर्णय भेलाले गरेको सहभागी एक पू्र्व जिल्ला सभापतिले बताए ।

महाविधेशनको मिति तोकिएर आचार संहितासमेत लागू भइसकेको सभापति देउवाले विभाग गठन गर्नुलाई पौडेल पक्षले देउवाको महाधिवेशनको तयारीका रुपमा बुझेको छ ।

भेलाका लागि हेटौंडा गएका पौडेलसहितका नेताहरुले पत्रकार सम्मेलन आयोजना गरी विभाग गठनबारे सभापतिको खुलेरै विरोध गरे । वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पैसा र पद बाँडेर सर्वेसर्वा हुन खोजेको आरोप लगाए । ‘पार्टीको महाधिवेशनका लागि आचारसंहिता लागू भइसकेको छ । यस्तो अवस्थामा पार्टी सभापतिले नीतिभन्दा बाहिर गएर विभाग गठन गर्नुभयो, यो काम गलत हो,’ उनको भनाइ थियो।

पैसा र पद बाँडेर पार्टीमा आफ्नो वर्चश्व बढाउनेतर्फ देउवा लागेको आरोप पनि पौडेलले लगाए। पार्टी नेतृत्व सही ढंगले अगाडि बढ्न नसक्दा कांग्रेसले संसदमा प्रतिपक्षीको भूमिका पनि राम्रोसँग निर्वाह गर्न नसकेको उनको भनाइ थियो ।

केन्द्रीय सदस्य रामशरण महतले सभापति सभापतिमा को लड्ने भन्ने विषय पछि टुंगो लाग्ने भन्दै अहिले सबैले आफ्नो स्थानबाट चुनावको तयारी गर्नुपर्नेमा जोड दिए। देउवा इतर समूहबाट सभापतिको उम्मेदवार को हुने भन्ने टुंगो लागेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल स्वाभाविक दाबेदार हुन् । शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला लगायतका आकांक्षीहरु पनि छन् ।

महामन्त्री शशांक कोइरालाले १४ औं महाधिवेशन प्रारम्भ भइसकेको अवस्थामा पार्टी सभापतिले विभाग गठन गरेर गलत गरेको बताए। चार वर्षसम्म विभाग गठन गर्न नसक्ने अनि अहिले आएर विभाग गठन गरिएको भन्दै उनले आपत्ति जनाए।

केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टी सभापतिले महाधिवेशनलाई प्रभावित पार्ने गरी विभाग गठन गरेको तर्क गरे।

देउवाले आफ्नो चार वर्षे कार्यकाल सकिनुअघि १३ वटा विभाग विस्तार गर्दै पाँचजना नेतालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेपछि कांग्रेसमा विवाद चर्किएको हो।

यसबाट चिढिएको पौडेल पक्षले पर्साको वीरगञ्जमा हिजो ९शनिबार० २ नम्बर प्रदेश स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको थियो। हिजोको भेलामा पनि वरिष्ठ नेता पौडेल, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा रामशरण महत, बलबहादुर केसी, मीनेन्द्र रिजाल, सुजाता कोइराला, प्रदेश २ का आठवटै जिल्लामा रहेका पौडेल समूहका नेता–कार्यकर्ता सहभागी थिए ।

भेलामा जिल्ला सभापति र सांसद भने उपस्थित थिएनन्। सभापति देउवाले महाधिवेशनको कार्यतालिका सार्वजानिक भइसकेपछि विभाग गठन गरेको भन्दै भेलाले त्यसको विरोधमा प्रस्ताव पारित गरेको थियो।

संस्थापन पक्षले भने सभापति देउवाले विधानअनुसार नै विभाग विस्तार र आमन्त्रित केन्द्रीय सदस्यहरूको मनोनयन गरेको दाबी गर्दै आएको छ। पार्टीको विधानले नै सभापतिलाई केन्द्रीय विभाग गठन गर्ने अधिकार दिएको संस्थापनको तर्क छ।

सभापति देउवाले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, शिवप्रसाद हुमागाईंलाई श्रमिक तथा ट्रेड युनियन विभाग र चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभागको जिम्मेवारी दिएका छन्।

संस्थापन इतर पक्षको बहिष्कारका बीच गत पुस ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले २८ वटा विभागलाई बढाएर ४७ बनाउने निर्णय गरेको थियो ।

यी हुन् विभागको जिम्मेवारी पाएका नेता

१) गोपालमान श्रेष्ठः संगठन विभाग
२) रमेश रिजालः संघीय मामिला तथा प्रदेश समन्वय विभाग
३) फरमूल्लाह मन्सुरः मुस्लिम विभाग
४) अर्जुनप्रसाद जोशीः स्थानीय तह समन्वय विभाग
५) आनन्दप्रसाद ढुंगानाः वित्तीय तथा सहकारी संस्था समन्वय विभाग
६) अजयकुमार चौरसियाः तराई–मधेश समन्वय विभाग
७) महेन्द्र यादवः यातायात व्यवसायी समन्वय विभाग
८) शंकर भण्डारीः तरुण विभाग
९) सीता गुरुङः आदिवासी जनजाति विभाग
१०) गोविन्द भट्टराईः नेपाली जनसम्पर्क समिति समन्वय विभाग
११) चीनकाजी श्रेष्ठः उद्योग व्यापार विभाग
१२) विश्वप्रकाश शर्माः सूचना, सञ्चार तथा प्रचार विभाग
१३) शिवप्रसाद हुमागाईंः श्रमिक तथा ट्रेड युनियन विभाग

देउवाले दाङका कृष्णकिशोर घिमिरे, झापाका गोपालकुमार बस्नेत, सुधीरकुमार शिवाकोटी, धनकुटाका मनोहरनारायण श्रेष्ठ र तनहुँका ध्रुव वाग्लेलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्।

‘तेस्रो धार’का सिटौला कता ?

कांग्रेसमा तेस्रो धार मानिने कृष्णप्रसाद सिटौला समूहका दुईजना पछिल्लो नियुक्तिमा अटाएका छन्– शिव हुमागाईं र सुधीरकुमार सिवाकोटी। आफ्ना मान्छे परेपछि सिटौला समूह संस्थापन पक्षसँग नजिकिएको पौडेल पक्षले निकर्ष निकालेको छ। पौडेल पक्षको शनिबार र आइतबारको भेलामा पनि सिटौला पक्ष सहभागी भएन।

लामो समय पार्टीको संस्थापन समूहमा रहेका सिटौला कांग्रेसको १३ औं महाधिवेशनमा सभापति लडेका थिए। तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेललाई नेता मान्न नसक्ने भन्दै उनले उम्मेदवारी घोषणा गरेका थिए।

महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीलाई लिएर तेस्रो समूह बनाएका सिटौला सभापतिको चुनावमा पनि तेस्रो नै भएका थिए।

त्यसयता सिटौला कहिले सभापति देउवासँग नजिक देखिन्छन् त कहिले वरिष्ठ नेता पौडेलसँग । सिटौला समूहमा शिव हुमागाईँ, भीमसेनदास प्रधान, गगन थापा, प्रदीप पौडेललगायत छन्।

गएको मंसिर अन्तिममा सुरु भएको केन्द्रीय समितिको बैठक बहिस्कार गर्दा सिटौला पौडेल समूहतिर देखिएका थिए। बैठक छल्न उनी गृह जिल्ला झापातिर लागेका थिए। काठमाडौंमै रहेका गगन र प्रदीप पनि बैठकमा सहभागी भएनन्।

त्यसैगरी ११ पुसको केन्द्रीय समिति बैठकले बहुमतबाट एकलौटी निर्णय गरेको भन्दै सिटौला देउवाविरोधी खेमातिरै उभिए। यद्यपि, उनी सहमतिका लागि जोडबल गरिरहेका थिए। देउवासँग पनि निरन्तर संवादमा रहेका सिटौलाले विभाग बनाउने देउवाको चाहनामा साथ दिएको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएको छ।

प्रकाशित: Mar 01, 2020| 17:21 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।