काठमाडौं– सरकारले ठूलो संख्यामा मानिसहरु भेला हुने सभा, सम्मेलनलगायत कार्यक्रम नगर्न आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको जोखिमका कारण यस्ता कार्यक्रम नगर्न आग्रह गरेका हुन्।
पत्रकार सम्मेलनमा मन्त्री ढकालले त्रिभुवन विमानस्थलमा स्वास्थ्य जाँचलाई अझै कडाइ गर्ने बताए । विमानस्थलबाट बाहिरिने र भित्रिने दुवैको स्वास्थ्य जाँच गरिने जानकारी उनले दिए ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेपछि विमानस्थलमा अहिले थर्मल स्क्यानर थप गरिएको छ । पहिले ३ वटा थर्मल स्क्यानर राखिएकोमा ३ वटा थप गरिएको छ । केही देशले अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेका छन् । नेपालले पनि केही ठाउँका उडान स्थगित गर्ने विषयमा छलफल गरिरहेको मन्त्री ढकालले बताए ।
साथै भक्तपुरस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनलाई यथावत् राखिने मन्त्री ढकालले बताए । चीनबाट ल्याइएका १७५ जनालाई घर पठाए पनि क्वारेनटाइनलाई यथावत् राखिने भएको हो ।