जनकपुरधाम– संघीय सरकारका संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री योेगेश भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कोही पनि शत्रु शक्ति नरहेको बताएका छन् । मुलुकमा शान्ति र समृद्धिको मिसन बोकेर हिँडेको नेकपाले कसैलाई शत्रु शक्तिको रुपमा नलिएको भट्टराईले उल्लेख गरेका छन् ।
१५ दिने मिथिला मध्यमा परिक्रमाको अवसरमा आइतबार महोत्तरीको कञ्चनवनमा आयोजित होली महोत्सव कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले चुनावको तिक्तता बिर्सेर देश निर्माणमा अघि बढ्नुको विकल्प नरहेको बताए ।
‘चुनाव सकिसकेको छ, जनताले मत दिइसकेका छन्, के नेकपा, के कांग्रेस के राजपा, के समाजवादी,’ उनले भने, ‘नेकपाले कसैसँग शत्रुता राखेको छैन । कांग्रेस–राजपा सबै हाम्रा मित्र हुन् । सबै मिलेर देश बनाऔँ ।’
प्रदेश २ पछाडि पर्ने प्रदेश नरहेको भन्दै उनले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर प्रदेश विकासतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिए । प्रदेश २ लाई वृहत् पर्यटकीय प्रदेशको रुपमा विकास गर्ने लक्ष्यसहित संघीय सरकार अगाडि बढिरहेको बताउँदै भट्टराईले दुबै सरकार मिलेर काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको जिकिर गरेका छन् ।
१५ दिने मिथिला परिक्रमाका तिर्थालुहरुलाई बाटोका साथै वास र खानेपानीको समस्या भोग्नु परेको सम्बन्धमा भट्टराईले संघीय र प्रदेश सरकारले यसतर्फ काम गर्नुपर्ने खाँचो रहेको बताए । साथै उनले त्रेता युगमा भगवान राम र सीताले होली खेलेको कञ्चनवनलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।