काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसनसम्बन्धी अडियो काण्डबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बाँस्कोटाको कमिसन काण्डमा छानविन होला जस्तो आफूलाई नलागेको बताउँदै देउवाले भने, ‘७० करोड कमिसनको विषयमा छानविन भएको छैन। यसको प्रगतिबारे प्रधानमन्त्रीले जानकारी दिनुपर्छ।’
कोरोना भाइरसबाट प्रभावितहरुको उद्धार र सहयोगका लागि पनि देउवाले आग्रह गरे। नेपाल ट्रष्टको जग्गा प्रकरणमा आफ्नो नाम मुछिएको भन्दै देउवाले आपत्ति जनाए। उनले ट्रष्टमा पनि भ्रष्टाचार भएको भन्दै छानविनको माग गरे।
पेट्रोल र डिजेलमा सरकारले बढाएको करको विरोध देउवाले गरे। उनले कर थप गरेर जनतालाई करको भारी बोकाइएको भन्दै आपत्ति जनाए।