काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई कोरोना भाइरस संक्रमणको अति उच्च जोखिममा राखेको छ।
कोरोनाको केन्द्रविन्दु मानिने चीनसँग सीमा जोडिएका कारण नेपाल यसको अति उच्च जोखिममा रहेको डब्लुएचओ जनाएको छ।
यसैबीच, नेपालले कोरोना भाइरस संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरेको छ।
प्रधानमन्त्रीको अध्यक्षतामा शनिबार बालुवाटारमा बसेको मन्त्री, कर्मचारी तथा सुरक्षा निकायका पदाधिकारीको बैठकले नेपालमा कोरोना भित्रिन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरेको हो।
बैठकले कोरोना नेपाल भित्रिन नदिन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ, जसमा स्वास्थ्य, गृह, अर्थ, पर्यटन र शिक्षामन्त्री सदस्य छन्।
समितिले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका मुलुकमा संक्रमणको अवस्था अध्ययन गर्ने र आवश्यक परे हवाई उडान तथा अन्य सेवा रोक्ने, सीमा बन्द गर्ने लगायतको निर्णय गर्ने अख्तियारी पाएको छ।
बैठकमा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिकित्सक र उपकरणको व्यवस्था गरेर बाह्य मुलुकबाट आउने यात्रुको अनिवार्य स्वास्थ्य जाँच गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका थिए।
उनले सीमा नाकामासमेत चेकजाँचको व्यवस्थासहित उच्च सतर्कता अपनाउन आग्रह गरेका थिए।
चीनको वुहानमा देखा परेको कोरोना भाइरसको संक्रमण विश्वका ५१ देशमा देखिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार कोरोना भाइरसबाट विश्वभरका ८३ हजारभन्दा बढी मानिस संक्रमित छन् भने दुई हजार ९ सय ७६को ज्यान गइसकेको छ। चीनमा दुई हजार आठ सय ७० र चीनबाहिर एक सय ६ जनाको ज्यान गएको सीएनएनले जनाएको छ।
नेपालमा भने अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन।