काठमाडौं- चरम विवादमा फसेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज (आइतबार) बस्दै छ ।
बिहान साढे ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक पार्टीमा देखिएको विवाद हल गर्ने विषयमा केन्द्रित हुने नेताहरुले बताएका छन् ।
गएको बुधबारको बैठकले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि पार्टी भित्रको विवाद चुलिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपीशर्मा ओलीले सचिवालयको निर्णय नमान्ने बताएका थिए ।
अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका अधिकांश सचिवालय सदस्य वामदेवलाई नै राष्ट्रियसभाको मनोनित सदस्यमा सिफारिस गर्नुपर्ने पक्षमा छन् ।
तर, प्रधानमन्त्री ओली वामदेवलाई सांसद बनाउन नसक्ने भन्दै अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने अडानमा छन् ।
आजको बैठकले यसका विषयमा टुंगो लगाउने सचिवालयका एक सदस्यले जानकारी दिए । उनका अनुसार वामदेवको संसद् यात्रा के हुने भन्ने विषय आजको बैठकले टुंगो लगाउने छ ।