एजेन्सी- कोरोना भाइरसबाट पनि अमेरिकामा पनि एक जनाको मृत्यु भएको छ ।
अमेरिकाको वासिङ्टनमा करिब ५० वर्षको आसपासको उमेरमा रहेका एक व्यक्तिको कोरोनाकै कारण मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् । अमेरिकामा कोरोनाबाट मानिसको मृत्यु भएको यो पहिलो घटना हो ।
स्थानीय स्वास्थ अधिकारीहरुका अनुसार वासिङ्टनको किङ्ग काउन्टीका ती व्यक्तिले यसअघि कोरोनाप्रभावित क्षेत्रको यात्रा नगरेको बताएका छन् । अन्य क्षेत्रमा नगए पनि उनलाई कोरोनाको संक्रमण देखिएको छ ।
कोरोनाबाट नागरिकको मृत्यु हुन थालेपछि अमेरिका पनि झस्किएको छ । वासिङ्टनका गर्भनर जे इन्सलेले राज्यमा आपत्कालको घोषणा गरेका छन् । उनले भाइरसको संक्रमण फैलन नदिन सबैखाले सतर्कता अपनाउन निर्देशन जारी गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कोरोनाभाइरसका संक्रमणका थप बिरामीहरु देखापर्ने सम्भावना रहेको भए पनि यसका लागि अमेरिका तयार रहेको दाबी गरेका छन् ।
अमेरिकामा पनि कोरोनाको संक्रमण फैलिन सुरु गरेको छ । अहिलेसम्म ५७ देशमा कोरोना फैलिएको छ भने करिब ३ हजारको मृत्यु भएको छ । कोरोनाबाट करिब ८० हजारभन्दा बढि संक्रमित भएको विश्व स्वास्थय संगठनले जनाएको छ ।