काठमाडौं– राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई मुख्य समाचार बनाएका छन्।
कान्तिपुर दैनिकले ‘खाडीमा कोरोना संक्रमण बढ्दो’ शीर्षकको समाचारलाई पहिलो पेजमा छापेको छ।
“नेपालीसहित विदेशी आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेपछि त्यहाँस्थित नेपाली दूतावासहरूले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन्। हालसम्म त्यहाँ कार्यरत नेपाली कोभिड–१९ बाट संक्रमित भएको खबर आएको छैन। खाडीका देशमध्ये बिहीबारसम्म बहराइनमा ३३, कुवेतमा ४५, युएईमा २१, ओमानमा ४ र कतारमा एक जना संक्रमित भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।”
सोही दैनिकले ‘वायुको गुणस्तरका सुधार’ शीर्षकको समाचारलाई पनि पहिलो पेजमै प्रकाशित गरेको छ।
नयाँ पत्रिका दैनिकले विपन्न विद्यार्थीको छात्रवृत्ति रकम फ्रिजसम्बन्धी समाचारलाई मुख्य बनाएको छ।
‘विपन्न विद्यार्थीका लागि अर्बको छात्रवृत्ति, १७ करोड मात्रै वितरण’ शीर्षकको समाचारमा भनिएको छ, “विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन विनियोजित बजेट खातामै सीमित हुने गरेको छ। पहुँच नभएका विद्यार्थी झन्भटिलो प्रक्रिया पार गर्न र छात्रवृत्ति प्राप्त गर्न असफल छन्। अघिल्लो आर्थिक वर्षमा माध्यमिक तह (कक्षा ९–१२) मा ५३ हजार पाँच सय विपन्न विद्यार्थीलाई लक्षित गरी ९८ करोड ५१ लाख चार हजार रूपैयाँ विनियोजन गरिएको थियो। तर, १२ हजार सात सयले मात्रै छात्रवृत्ति पाएका छन्। यसरी करिब एक अर्ब बजेटबाट १७ करोड ५१ लाख १० हजार रूपैयाँ मात्रै वितरण भएको छ।”
सोही दैनिकले अमेरिका–तालिवानबीचको सम्झौतालाई पनि पहिलो पेजमा स्थान दिएको छ। यस्तै, सन्दीपले टी–२० खेलमा सय विकेट लिएको समाचारलाई पनि नयाँ पत्रिकाले छापेको छ।
अन्नपूर्ण पोस्ट दैनिकले ‘नेकपा विवाद : भेट तीव्र, नतिजा शून्य’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ। सोही दैनिकले बालविवाहका ज्यान लिइरहेको समाचारलाई पनि पहिलो पेजमा प्रकाशित गरेको छ।
नागरिक दैनिकले ‘बग्रेल्ती सन्तान, हुर्काउनै सकस’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ।
कारोबार दैनिकले ‘सहकारी व्यवस्थापन समितिको ‘विज्ञ’मा कार्यकर्ता’ शीर्षकको समाचारलाई पहिलो पेजमा प्रकाशित गरेको छ।