काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका १३ वटा विभागलाई नेतृत्व प्रदान गरेको छ। सभापति शेरबहादुर देउवाले शनिबार विभिन्न १३ विभागको प्रमुखमा केन्द्रीय कार्य समितिका नेताहरुको मनोनयन गरेका हुन्।
सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
विभागमा संगठन प्रमुखको जिम्मेवारी गोपालमान श्रेष्ठले पाएका छन्। त्यस्तै संघीय मामिला तथा प्रदेश समन्वय विभागको नेतृत्व रमेश रिजालले पाएका छन् भने मुस्लिम विभागको नेतृत्व फरमुल्लाह मन्सुरले पाएका छन्।
त्यसैगरी स्थानीय तह समन्वय विभागमा अर्जुनप्रसाद जोशी, वित्तिय तथा सहकारी संस्था समन्वय विभागमा आनन्दप्रसाद ढुंगाना, तराई–मधेश समन्वय विभागमा अजय कुमार चौरासिया तथा यातायात व्यवसायी समन्वय विभागमा महेन्द्र यादवलाई मनोनित गरिएको छ।
त्यस्तै शंकर भण्डारीलाई तरुण विभागको जिम्मेवारी दिइएको छ भने सीता गुरुङलाई आदिवासी जनजाति विभाग, गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग र चीनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभागको जिम्मा दिइएको छ।
त्यसैगरी सूचना, संचार तथा प्रचार विभागमा प्रवक्ता विश्वप्रकाश शर्मा र श्रमिक तथा ट्रेड युनियन विभागमा शिवप्रसाद हुमागाईँलाई मनोनित गरिएको छ।
यसका साथै सभापति देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा कृष्ण किशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहर नारायण श्रेष्ठ (धनकुटा) र धु्रव वाग्ले (तनहुँ) लाई मनोनयन गरेका छन्।
