जनकपुरधाम– धनुषाका सामुदायिक विद्यालयहरुले आठ वर्षसम्म कहिल्यै विद्यालय नपुगेका विद्यार्थीहरुलाई कक्षा ८ मा सोझै नामांकन गर्ने गरेको पाइएको छ । सानो कक्षादेखि माघ महिनासम्म निजी विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई सामुदायिक विद्यालयले फागुन महिनामा सोझै नामांकन गरेर कक्षा ८ को आधारभूत तहको परीक्षा फर्म भर्न लगाएका हुन् ।
परीक्षा फर्म भर्न कक्षामा न्यूनतम ७० प्रतिशत हाजिर हुनुपर्ने सरकारी नियमको परवाह नगरी सामुदायिक विद्यालयहरुले मापदण्डविपरीत विद्यार्थीको भर्ना गर्ने गरेको निजी विद्यालयको आरोप छ ।
‘नर्सरीदेखि कक्षा ८ को फर्म भरिनु पूर्वसम्म निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको नामांकन अचानक सामुदायिक विद्यालयमा कसरी हुन्छ ?’ एनप्याब्सन धनुषाका पूर्वअध्यक्ष चन्द्रनारायण मण्डल प्रश्न गर्छन् । यस्तो समस्या धनुषामा मात्र नभएर प्रदेश २ का अधिकांश जिल्लामा देखिएको उनले बताए ।
‘सानै कक्षादेखि निजीमा पढ्दै आइरहेका विद्यार्थीहरु आठ कक्षामा फर्म भर्ने बेला अचानक गायब भइदिन्छन्,’ उनले भने, ‘खोतल्दै जाँदा उनीहरुले सरकारी विद्यालयबाट फर्म भरेको बुझिन्छ । कहिल्यै विद्यालय नै नपुग्ने विद्यार्थीको फर्म सामुदायिकबाट कसरी भरिन्छ ?’
‘सुरुदेखि त्यहाँ नामांकन गरेर पढेका विद्यार्थी छन् भने हामीले केही भन्नु छैन । तर नियमविपरीत यसरी भर्ना गर्ने विद्यालयमाथि सम्बन्धित निकायले कारबाही गर्नुपर्छ,’ मण्डल भन्छन् ।
निजी विद्यालयलाई धराशायी बनाउने गरी सरकारले हरेक वर्ष व्यवस्था परिवर्तन गर्ने गरेको उनको भनाइ छ । पढाइमा अब्बल विद्यार्थीहरुलाई अन्तिम समयमा फर्म भराएर राम्रो रिजल्ट आएको देखाएर सरकारबाट सुविधा लिन सामुदायिक विद्यालयले यस्तो कार्य गरेको मण्डलले बताए ।
प्याब्सनका प्रदेश सचिव विश्वलाल सिंहका अनुसार कक्षा ८ को फर्म भर्ने बेला हरेक वर्ष निजी विद्यालयबाट १५ देखि २० विद्यार्थी निस्कने गरेका छन् । यकिन तथ्यांक नभए पनि यस वर्ष जनकपुरका निजी विद्यालयमा अध्ययन गर्दै आइरहेका करिब पाँच सय विद्यार्थी सामुदायिक विद्यालयबाट कक्षा ८ को फर्म भरेको उनले बताए ।
संविधानअनुसार विद्यालय तह स्थानीय तह मातहत गइसके पनि यसखाले विकृति रोक्नतर्फ खासै पहल नहुँदा समस्या देखिएको सिंहको भनाइ छ । सरकारको नीति र स्थानीय तहको लापरबाहीले निजी विद्यालय धराशायी हुने संघारमा पुगेको उनले बताए ।
जनकपुरधाम उपमहानगरपालिका शिक्षा इकाईकी प्रमुख अञ्जु पाण्डेयले निजीमा पढेर सामुदायिक विद्यालयबाट फर्म भर्ने विद्यार्थीहरुको सूची उपलब्ध गराउन आफूहरुले निजी विद्यालयलाई भनेको बताइन् ।
निजी विद्यालयले त्यस्ता विद्यार्थीहरुको सूची उपलब्ध गराए आफूहरुले कारवाही प्रक्रिया अघि बढाउने उनको भनाइ छ । ‘विद्यार्थीहरु सुरुदेखि जहाँबाट पढेको हो, परीक्षा पनि त्यहिँबाट दिनुपर्छ । अन्तिम समयमा आएर अन्यत्रबाट फर्म भर्न पाइन्न । सूची उपलब्ध गराए हामी कारवाही गर्छौँ,’ पाण्डेयले भनिन् ।
नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामस्नेही यादवले परीक्षाको फर्म भर्न न्यूनतम ७० प्रतिशत उपस्थिति अनिवार्य रहेको भन्दै राम्ररी खोजबिन गरे अन्तिम समयमा नामांकन गर्ने विद्यालय र विद्यार्थी दुबै कारबाहीमा पर्न सक्ने बताए ।
सामुदायिक विद्यालयबाट उत्तीर्ण गरेका छात्रछात्रालाई उच्च अध्ययनका साथै लोक सेवामा ग्राहयता दिइने प्रावधान रहेको भन्दै अभिभावकसमेत यस कार्यमा संलग्न रहेको निजी विद्यालयको भनाइ छ । कक्षा ८ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले सरकारी छात्रवृत्तिमा ग्राहयता पाउने व्यवस्था परिवर्तन गरी आगामी वर्षदेखि कक्षा ६ देखिनै कायम गरिएको छ ।