बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्व नेपाली साहित्य महोत्सव : मौलिक संस्कृति खतरामा परेको चिन्ता

विश्व नेपाली साहित्य महोत्सव : मौलिक संस्कृति खतरामा परेको चिन्ता

विभिन्न विषयमा गहन बहससँगै लोक झाँकी, साहित्यिक रचना वाचन तथा प्रस्तुतिले धनगढीको वातावरण साहित्यमय बनेको छ।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

धनगढी– नयाँ पुस्तामा आयातीत संस्कृतिप्रतिको मोह बढेकाले मौलिक संस्कृति खतरामा परेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्। धनगढीमा फागुन १४ गतेदेखि जारी विश्व नेपाली साहित्य महोत्सवमा सरोकारवालाहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

‘मौलिक संस्कृति छोड्दै नयाँ पुस्ताले बाह्य संस्कृति अंगाल्न थालेका छन् । यसले हाम्रो आफ्नाे संस्कृति खतरामा परिसकेको छ,’ प्राध्यापक डाक्टर प्रेम खत्रीले भने, ‘आफ्नो कुरा छोडेर अर्काको सिको गर्ने बानीको विकास हुनु राम्रो हैन।’

‘खतरामा छ इतिहास र संस्कृति’ विषयको छलफलमा प्रा.डा खत्रीले हामीले मनाउने मेला पर्व, धार्मिक एवम् सांस्कृतिक कार्य, रितीथिति, चालचलनमा बाह्य संस्कृतिको प्रभाव बढेको बताए। यस्तो हुनु मौलिक संस्कृति माथिको आक्रमण हो भन्दै खत्रीले मौलिक संस्कृति लोप हुनेमा गहिरो चिन्ता व्यक्त गरे।

छलफलमा सहभागी डा. कृष्ण सर्वहारीले भाषा र साहित्य संस्कृतिको मुटु भएकाले संस्कृति जोगाउन सबैभन्दा पहिले भाषा र साहित्य जोगाउनुपर्ने बताए। ‘सबैभन्दा महत्वपूर्ण कुरा भाषा हो, भाषाको संरक्षण र प्रवर्धन गरे मात्र साहित्य र संस्कृति जोगाउन सकिन्छ,’ सर्वहारीले भने, ‘भाषाको प्रवर्धनमा सरकारले ध्यान दिएको छैन।’

सरकारले जाजजाती विशेषका संग्रहालय बनाएर मात्र भाषा संस्कृतिको जगेर्ना नहुने भन्दै सर्वहारीले भाषाको संरक्षण र प्रवर्धनमा ध्यान दिनुपर्ने बताए। सबैमा भाषिक जागरण आएमात्र भाषाको संरक्षण हुने उनको धारणा थियो।

प्रा.डा. खत्रीले आयातित संस्कृतिले समाज जोड्ने भन्दा भाँड्ने काम गरिरहेको भन्दै संस्कृति भित्रिई विकृति बढी भित्रिएकाले यो नै सबैभन्दा चिन्ताको बिषय भएको बताए। संस्कृति नै त्यो देशको सबैभन्दा ठूलो सीमा भएको खत्रीको भनाइ छ ।

मौलिक संस्कृतिको जगेर्ना गर्नमा राज्यको खासै ध्यान नपुग्दा हाम्रो संस्कृतिमाथि अतिक्रमण बढेको खत्रीले बताए। संस्कृति संरक्षण राज्यको प्राथमिकतामा पर्नुपर्नेमा उनले जोड दिए।

‘विवाह, व्रतबन्ध, मृत्यु संस्कार जस्ता धार्मिक कार्यहरु गाउँघरमा थेरै खर्चमा सम्पन्न गरिन्थ्यो तर, आजभोलि पैसा धेरै खर्च गर्ने पार्टी प्यालेसको प्रचलन बढेको छ,’ सर्वहारीले भने, ‘यस्तै अर्काको सिको गर्ने बानीले हाम्रा मौलिक संस्कृति लोप हुँदै गैरहेका छन्।’

नयाँ पुस्तामा संस्कृतिको पुस्तान्त्रण हुन नसकेकै कारणले मौलिक संस्कृति लोप हुने अवस्था आएको खत्री र सर्वहारी दुबैले चिन्ता व्यक्त गरे।
पुस्तान्तण गर्न सकेमात्र संस्कृति जोगिने भन्दै उनीहरुले यसमा राज्यले ध्यान दिनुपर्ने बताए।

सुदूरपश्चिम साहित्य समाज धनगढीले आयोजना गरेको महोत्सव फागुन २० गतेसम्म चल्नेछ। महोत्सवमा साहित्य, कला, भाषा, संस्कृति, राजनीति, इतिहास, विकासलगायत विषयमा ४३ बढी बहस सत्र सञ्चालन हुने समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिए।

महोत्सवमा देशभित्र र विश्वका विभिन्न मुलुकका नेपाली भाषी साहित्यकारहरू समेत पा“च सय बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।

महोत्सवमा भारतको आसाम, नागाल्याण्ड, मिजोरम, सिक्किम, उत्तराखण्ड, पश्चिम बंगाल सहितका विभिन्न राज्यका साथै बर्मा, अष्टे«लिया, अमेरिका सहितका मुलुकबाट नेपाली भाषी साहित्यकारहरू सहभागी छन्।

विश्वलाई जोड्ने कला संस्कृति हो हाम्रो स्वाभिमान’ भन्ने मूल नारासहित सुरु भएको महोत्सवको बहस सत्रमा सम्बन्धित विषयका विशेषज्ञले बहस गरिरहेका छन्।

‘नेपालमा पहिलो पटक विश्वभरीका नेपाली भाषी साहित्यकारहरूको जमघट भएको छ,’ महोत्सव मुल आयोजक समितिका संयोजक प्राज्ञ यज्ञराज उपाध्यायले भने, ‘विश्वभरी नेपाल तथा सुदूरपश्चिम प्रदेश, नेपाली भाषा, संस्कृतिलाई चिनाउने निकै महत्वपूर्ण अवसर मिलेको छ।’

नेपाली भाषा तथा संस्कृतिको माउथलो सुदूरपश्चिम प्रदेशमा विश्वभरीका नेपाली भाषी साहित्यकारहरूको सहभागितामा साहित्यिक महोत्सव हुनु सबैका लागि गौरवको विषय भएको उपाध्यायले बताए।

विभिन्न विषयमा गहन वहससँगै लोक झाँकी, साहित्यिक रचनावाचन तथा प्रस्तुतीले धनगढीको वातावरण साहित्यमय बनेको छ। महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन्।

खाना महोत्सव

साहित्य महोत्सवकै अवसर पारेर धनगढीमा पहिलो पटक सुदूरपश्चिम खाना महोत्सव पनि आयोजना गरिएको छ। होटल व्यवसायी संघ कैलालीको आयोजनामा भएको खाना महोत्सवमा २५ वटा स्टल छन्। सबै स्टलहरुमा यस प्रदेशका स्थानीय खानाका परिकार मात्रै उपलव्ध छन्।

सुदूरपश्चिम प्रदेशका परम्परागत खानाका परिकारहरुको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको संघका अध्यक्ष कलम बमले बताए। महोत्सवमा एक हजार लिटरको भाँडामा मासको फाँडो पकाउने तयारी समेत आयोजकले गरेको छ। साहित्य महोत्सवसँगै राखिएको खाना महोत्सवमा स्थानीय खानाका परिकारहरुको स्वाद लिनेहरुको घुइँचो लाग्ने गरेको छ।

प्रकाशित: Feb 28, 2020| 16:53 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।