काठमाडौं- राजधानीबाट आज (शुक्रबार) प्रकाशित ब्रोडसिटका दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई पहिलो पृष्ठमा स्थान दिएका छन्।
कान्तिपुर दैनिकले ‘संसद् छलेर इन्धनमा थप कर’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ।
“संसदबाट अनुमोदन गराएर मात्रै कर लगाउनुपर्ने अभ्यासविपरीत सरकारले इन्धनमा पूर्वाधार विकास कर बढाएर उपभोक्तामाथि अतिरिक्त भार थोपरेको छ। बजारमा भइरहेको मूल्यवृद्धिलाई थप बढावा दिने गरी फागुन १२ को मन्त्रिपरिषद् बैठकले इन्धनबाट उठाउँदै आएको यस्तो कर दोब्बर पारेको हो।
यसअघि पेट्रोल, डिजेल र हवाई इन्धनमा प्रतिलिटर ५ रूपैयाँ पूर्वाधार कर रहेकामा अब प्रतिलिटर १० रूपैयाँ भएको छ। मन्त्रिपरिषद् निर्णयलगत्तै भन्सार कार्यालयहरूले यो रकम उठाउन सुरु गरिसकेका छन्। तर, यसरी उठाइएको रकम कहाँ खर्च गर्ने भन्ने टुंगो लागेको छैन,” समाचारमा भनिएकाे छ।
यसैगरी सोही दैनिकले पूर्वराज्यमन्त्री सञ्जय साहलाई दुई फरक आर्थिक मुद्दामा दोषी ठहर भई सजाय पाएको समाचारलाई पनि पहिलो पृष्ठमै प्रकाशित गरेको छ।
नागरिक दैनिकले ‘मासिक आधा अर्ब नाफा कमाउँदै निगम : इन्धनमा थप कर, उपभोक्तालाई भार’ शीर्षकको समाचार प्रकाशित गरेको छ।
अन्नपूर्ण पोस्ट दैनिकले १३ औं दक्षिण एसियाली खेलकुद (साग) पदक विजेता खेलाडीले पुरस्कार नपाएको विषयलाई ‘एन्कर’ न्युज बनाएको छ।
‘सरकार, पुरस्कार कहिले ?’ शीर्षकको उक्त समाचार भनिएको छ, “१३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको दुई महिना बित्यो। साग सकिनेबित्तिकै मंसिर २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई सरकारी निवास बालुवाटार बोलाएर एक महिनाभित्र नगद पुरस्कार दिने घोषणा गरेका थिए। तर, खेलाडीले अझै पुरस्कार पाएका छैनन्।”
नयाँ पत्रिका दैनिकले ‘प्रधानमन्त्री ओलीलाई नेता नेपालको सुझाव ः पार्टी निर्णय कार्यान्वयन नभएर दुर्घटना’ शीर्षकको मुख्य समाचार बनाएको छ।
सोही दैनिकले ‘पेट्रोलमा ८६ प्रतिशत कर’ शीर्षकको समाचारलाई पनि पहिलो पेजमै प्रकाशित गरेको छ।
कारोबार दैनिकले भने ‘सातामा दुई सय अंकले बढ्यो नेप्से’ शीर्षकको समाचारलाई पहिलो पेजमा स्थान दिएको छ। यस्तै, सोही दैनिकले ‘श्रम गन्तव्यमा कोरोना कहर’ शीर्षकको समाचारलाई पनि पहिलो पेजमै छापेको छ।