कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट रोक्नको लागि जापानका विद्यालय बन्द गरिने भएको छ ।
बिहीबार प्रधानमन्त्री शिन्जो आबेले नयाँ कोरोनाभाइरसको सङ्क्रमण रोक्नको लागि देशभरका विद्यालयहरूलाई केही हप्ता बन्द गर्न आग्रह गरेका हुन्।
अधिकारीहरूले जापानमा कोरोना भाइरसका कारण चौथो व्यक्तिको मृत्यु भएपछि प्रधानमन्त्रीले उक्त आह्वान गरेका हुन्। कोरोना भाइरस सङ्क्रमित यात्रु भेटिएपछि जहाजमा नै क्वारेन्टाइनमा राखिएका करिब ७०० यात्रुलाई जापानमा डायमण्ड प्रिन्सेस नामक पानीजहाजका चालक दलका सदस्यले छोडिदिएपछि पछिल्लो कदम आएको हो ।
“सरकारले बच्चाहरूको स्वास्थ्य र सुरक्षालाई अरूभन्दा उच्च प्राथमिकता दिनुपर्छ,” आबेले भने ।
जापानको उत्तरी होकाइदो शहरमा गत बिहीबार एक असी वर्ष पार गरेका वृद्धलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि त्यहाँका सार्वजनिक प्राथमिक तथा निम्नमाध्यमिक विद्यालयहरू यस अघि देखि नै बन्द भइसकेका छन् ।