नेपाली राजनीतिमा लोकप्रिय युवा नेताको छवि बन्दै थियो रवीन्द्र अधिकारीको। पहिलोपटक मन्त्री बनेका अधिकारी केही गरेर देखाउन भरमग्दुर प्रयत्न गरिरहेका थिए। काम गर्ने क्रममा विवाद पनि नआएको होइन, आरोप नलागेको पनि होइन, तर आरोप पुष्टि नभइसकेकोले उनीबाट आशा गर्नेहरु धेरै थिए।
२०४२ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसबाट उच्च शिक्षाको थालनी गरेका अधिकारीविभिन्न जिम्मेवारी बहन गर्दै २०४९ सालमा पिएन क्याम्पस र २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बन्न सफल भए। उनले २०४५ सालमा पार्टीको सङ्गठित सदस्यता प्राप्त गरेका थिए ।
२०६४ र २०७० को संविधानसभा सदस्यमा कास्की क्षेत्र नं ३ बाट निर्वाचित र २०७४ सालको प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नं २ बाट अधिकारी निर्वाचित भए । उनले २०७४ चैत २ गते नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
विम्ब कवि एवं कलाकार रमेश श्रेष्ठ २०४३ सालमा रवीन्द्रसँग पृथ्वीनारायण क्याम्पसमा भेट भएको सम्झिन्छन्– ‘त्यही समयदेखिको आत्मीयता ऊ जिवित रहँदासम्म कायम रह्यो । मिलनसार, जुझारु, हँसिलो अनुहार र सबैसँग आत्मीय सम्बन्ध विस्तार गर्नसक्ने उसँग गजबको विशेषता थियो। फरक विचार र स्वभावका व्यक्तिलाई समेत आफ्नो प्रभावमा पार्नसक्ने क्षमता ऊसँग थियो । यही गुण र विशेषताले नै हुनुपर्छ, उसलाई निरन्तर चुनावमा विजयी हासिल गराउँदै राजनीतिक सफलता मिल्दै गयो । रवीन्द्र अधिकारी एउटा समयले जन्माएको क्यारेक्टर हो । नयाँ पुस्ताले आर्दश मान्ने क्यारेक्टर उसमा थियो,’ उनले सम्झिए।
पर्यटन व्यवसायी विप्लव पौडेल अधिकारी यसरी सम्झिन्छन्– रवीन्द्रलाई म एक असल साथी र दूरदर्शी विकास प्रेमी नेताका रुपमा स्मरण गर्छु । नेपालको पर्यटनमा नयाँ आयाम र बृहत् योजनासहित अघि सारेका उहाँका रणनीतिक योजनाले नेपालको पर्यटनमा नयाँ आयामको शुरुआत गर्नमा हामी विश्वस्त थियौँ । तर, हामीले अकल्पनीयरुपमा उहाँलाई गुमायौँ ।
उहाँको निधनले नेपालको पर्यटन विकासमा नराम्ररी धक्का लागेको महसुस भएको छ । पोखराको सन्दर्भमा पनि विश्वकै उत्कृष्ट शहर बनाउने अभिष्ट उहाँमा थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, चक्रपथ, काठमाडौँ पोखरा लुम्बिनी फाष्ट ट्रयाक, काठमाडौँ पोखरा रेल्वे, मध्यपहाड़ी राजमार्गजस्ता पूर्वाधार निर्माणको दबाब सिर्जना गर्ने काममा उहाँको महत्वपूर्ण भूमिका छ ।
रवीन्द्र स्मृति प्रतिष्ठानका कोषाध्यक्ष देवका पहारीले अधिकारीलाई यसरी सम्झिइन्– रवीन्द्र अधिकारी मभन्दा एक व्याच सिनियर हुनुहुन्थ्यो । विद्यार्थी कालदेखि नै जुझारु र मिलनसार व्यवहार उहाँको थियो । राजनीतिक आन्दोलनमा निडर निर्भिक साथ प्रस्तुत हुने कुशल नेतृत्व क्षमता उहाँमा थियो । राजनीति र विकास एकअर्काका अन्तर सम्बन्धित ठान्ने अधिकारी नेपाली राजनीतिलाई उचाइमा पुर्याउने एक कुशल राजनीतिक पात्र हुनुहुन्छ । नेपाली राजनीतिको उदीयमान नक्षेत्रका रुपमा रहनुभएका अधिकारीले गर्नुभएका सकारात्मक र अविस्मरणीय कार्यलाई चिरस्थायी रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान गठन गरेर उहाँको योगदानलाई जीवन्त राख्ने प्रयासमा लागेका छौँ ।
अधिकारीका संविधानसभा, लोकतन्त्र र पुर्नसंरचना र समृद्ध नेपाल नामक दुई पुस्तक प्रकाशित छन् भने राजनीति एवं विकाससम्बन्धी थुप्रै लेख पनि प्रकाशित छन्। नेपथ्य ब्यान्डको चर्चित गीत जोमसोमै बजारमा पनि अधिकारीले नै लेखेका हुन्।
पर्यटनमन्त्रीमा बहाल रहेकै बेला गत वर्ष फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा अधिकारीको निधन भएको थियो । तेह्रथुममा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर ताप्लेजुङको पाथीभरा पुगेका मन्त्री अधिकारीसहित सात जना सवार हेलिकोप्टर दुर्घटनामा परेको थियो।
दुर्घटनामा अधिकारीसँगै यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुबदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्री अधिकारीका पिएसओ अर्जुनकुमार घिमिरेको निधन भएको थियो।
एक वर्षपछि हेलिकप्टर दुर्घटनाको प्रतिवेदन सार्वजनिक, औंल्यायो यस्ता कारण