काठमाडौं- कोरोना भाइरस (कोभिड– १९) संक्रमणका कारण मृत्यु हुनेको संंख्या दक्षिण कोरियामा १२ र ईरानमा १० पुगेको छ भने फ्रान्समा पनि यो भाइरसबाट तीन जना संक्रमित भएकोमा एकको मृत्यु भएको छ। उता, ५२ नयाँ मृत्युका साथ चीनमा यो भाइरसका कारण ज्यान गुमाउनेको संख्या २,७०० नाघेको छ।
चीनमा कोरोना भाइरसको नयाँ संक्रमणका घटनामा कमी आएको समाचार आइरहँदा यसको प्रकोप चीन बाहिर तीव्र गतिमा फैलन थालेको छ।
दक्षिण कोरियामा १२६१ व्यक्ति यो भाइरसबाट संंक्रमित छन्। दक्षिण कोरियामा रहेको अमेरिकी सैन्य आधारशिविरका एक सैनिक पनि कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ।
इरानमा संक्रमितको संख्या ३०० पुगेको छ भने इटलीमा पनि कोरोना भाइरसबाट संक्रमितको संख्या ३२२ पुगेको छ।
फ्रान्सेली नागरिकको मृत्यु
कोरोनाभाइरस संक्रमणबाट एकजना ६० वर्षीय व्यक्तिको पेरिसमा मृत्यु भएको छ। उनी यो भाइरसको संक्रमणबाट मृत्यु हुने पहिलो फ्रान्सेली नागरिक हुन्।
फ्रान्सका स्वास्थ्य अधिकारी जेरेमी साल्मोनका अनुसार फ्रान्समा थप दुई जना पनि यो भाइरसबाट संक्रमित छन् । तीमध्ये एकजना हालै इटली भ्रमणबाट फर्केका थिए।
हङकङमा ८९
हङकङमा बुधबार थप चार जनामा कोरोना संंक्रमणको पुष्टि भएपछि संक्रमितको कुल संख्या ८९ जना पुगेको छ।
कोरोना संक्रमण विश्वव्यापी हुन थालेपछि फिलिपिन्सले दक्षिण कोरियामा संक्रमण फैलिएका गेयोङसाङ र देगु प्रान्तबाट फिलिपिन्स आउन प्रतिवन्ध लगाएको छ।
उता, विश्व स्वास्थ्य संगठनले चीनले कोरोना भाइरसको संंक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम उठाइरहेको भए पनि अन्य देशहरु यसबारे तयार नभएको बताएको छ।
संगठनले विश्व स्वास्थ्य संकट अवस्था घोषणा गरिसकेको छ। चीनमा कोेरोना भाइरस संंक्रमितको संंख्या ७८ हजार पुगेको छ।