इजिप्टको चर्च र प्रहरी सुरक्षा जाँचस्थलमा विस्फोट गराएको अभियोग लागेका आठ जनालाई मृत्युदण्ड दिइएको छ। गत वर्ष मृत्युदण्डका लागि सजाय सुनाइएका उनीहरूले सन् २०१८ को मे मा आफूहरूलाई दिइएको मृत्युदण्डमाथि पुनरावलोकनका लागि अन्तिम पुनरावेदन गर्न पुगे पनि अदालतले त्यसलाई अस्वीकार गरेको थियो।
सबै आठजना स्थानीय समय अनुसार सोमबार विहानै मारिएका थिए । उनीहरू गत वर्षको अक्टोबरमा सैन्य अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका १७ जनामध्ये थिए ।
इजिप्टको अलेक्जेन्ड्रिया, कायरो, टान्टास्थित विभिन्न चर्च र दक्षिणपश्चिम क्षेत्रको एउटा प्रहरी सुरक्षा जाँच केन्द्रमा विस्फोट गराएकोमा उनीहरूलाई दोषी ठहर गरिएको थियो । सन् २०१६ र सन् २०१७ मा गराइएका विस्फोटमा गरी उनीहरूले प्रायः क्रिश्चियन धर्मावलम्वीहरूसहित ८८ जनाको हत्या गरेका थिए ।
सजाय पाएका अन्य नौजना भागिरहेकाले उनीहरूलाई सुरक्षाकर्मीले अझै पक्राउ गर्न सकेको छैन ।
इजिप्टमा तत्कालिन इस्लामिक राष्ट्रपति मोहम्मद मोर्सीलाई पदच्युत गरी सेनाको सहयोगमा राष्ट्रपति बनेका अब्देल फताह अल–सिसी सन् २०१४ मा सत्तामा पुगेपछि मृत्युदण्डका घटना वृद्धि भएका छन् ।
मानव अधिकारवादी अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलले मृत्युदण्डको विरोध गरेको छ । उसले सामूहिक मृत्युदण्ड पाएका उनीहरूको अपराध स्वतन्त्ररूपमा पुष्टि नभएको आरोप लगाएको छ । एम्नेस्टी इन्टरनेशनलले मृत्युदण्डले कसैलाई न्यायको नदिने भन्दै अपराधको विकल्प अपराध हुन नसक्ने र मारिएका ती व्यक्तिलाई सेनाले अन्यायपूर्ण सुनुवाई गरी दोषी ठहर गरेको बताएको छ।
रासस