चितवन - दुर्लभ एक सिङ्गे गैंडाको गणना यही चैत १ गतेदेखि सुरु गरिने भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट गणना सुरु गरिने भएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनाको सम्पूर्ण तयारी अघि बढाइएको छ।
फागुनको अन्तिम साता प्राविधिक कर्मचारीलाई तालीम दिएर गणना गर्न लागिएको हो। चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो चरणमा गैंडा गणना गरिने छ भने दोस्रो चरणमा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने श्रेष्ठले जानकारी दिए। नेपालका चारवटा निकुञ्जमा गैंडा रहेका छन्।
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणनाका लागि ३५ वटा हात्ती र ६० प्राविधिक जनशक्ति परिचालन गरिँदै छ। प्रत्यक्ष रुपमा गणना गरिँदै छ। बीस दिनमा गणना गरिसक्ने योजना छ। श्रेष्ठका अनुसार निकुञ्जलाई विभिन्न भागमा छुट्याएर गणना गरिँदै छ। शुभारम्भ कहाँबाट गर्ने भन्ने टुङ्गो लाग्न बाँकी छ। वनमन्त्री, सचिवलगायतका उच्च अधिकारीको उपस्थितिमा गणना शुभारम्भ गर्ने विभागको तयारी रहेको छ।
विगतका वर्षमा दाताको भरमा गणना गरिने गरेको भए पनि यसपटक सरकारले आफ्नै खर्चमा गणना गर्दैछ। उनका अनुसार गैंडा गणनाका लागि विभागले रु एक करोड १० लाख ३५ हजार रकम बिनियोजन गरेको छ। बाढीले गैंडा बगाएपछि गत वर्ष नै गैंडाको सङ्ख्या पत्ता लगाउन गणना गर्ने तयारी गरिएको भए पनि बजेट अभावमा गणना हुन सकेको थिएन। दाताको भर पर्दा समस्या हुनसक्ने भन्दै यस वर्ष सरकारलेनै बजेट विनियोजन गरेको थियो।
हरेक पाँच/पाँच वर्षमा गैंडा गणना गरिँदै आएको छ। यस अघि सन् २०१५ मा गैंडा गणना गरिएको थियो। त्यतिबेला ६४५ गैंडा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। जसमध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा रहेका थिए। रासस