जनकपुरधाम - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेन्द्र यादवले प्रदेश २ मा आफूहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार मान्य नहुने बताएका छन्। संघीयता र संविधान मास्न उद्दत रहेको नेकपाको सरकार प्रदेशमा आफूहरुलाई स्वीकार्य नहुने यादवले बताए। प्रदेश २ मा सरकार परिवर्तनको चर्चा चलिरहेको बेला नेता यादवले संघीयता जोगाउनपनि यहाँ नेकपाको सरकार बन्न नहुने तर्क गरे।
नेपाली कांग्रेसका स्वर्गीय नेता महेन्द्र नारायण निधिको ९८ औं जन्मजयन्तीको अवसरमा जनकपुरमा मुख्यमन्त्री लालबाबु राउतसमेत उपस्थित रहेको कार्यक्रममा पूर्वमन्त्री यादवले संघीयता प्रदेश २ को सफलता/असफलतामा निर्भर रहेको बताए। ‘प्रदेश सरकार परिवर्तन हुने हल्ला चलेको छ,’ मुख्यमन्त्री राउतलाई उनले भने, ‘तपाईं प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ, सामदाम दण्डभेद सबै अपनाउनुस्, हामी साथ दिन तयार छौं। तर, नेकपाको सरकार बन्नु भएन।’
‘अन्य सबै प्रदेशमा नेकपाको सरकार छ, तर उसको गिद्धे नजर प्रदेश २ माथि टिकेको छ, प्रदेशलाई असफल बनाउन हरेक प्रपञ्च गर्न खोजेको छ,’ उनले थपे, ‘मुख्यमन्त्रीज्यू तपाईं हिम्मत देखाउनुस, हाम्रो साथ हुनेछ।’
कांग्रेस पछिहटे कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले संघीयता र गणतन्त्र एक दिनमै चपाईदिने यादवले दाबी गरे। मधेशमा आन्दोलन हुँदा संविधान संशोधन गर्न तयार नभएको कम्युनिष्ट पार्टी अहिले एकजना नेतालाई प्रधानमन्त्री बनाउन संशोधन गर्न खोजेको उनको भनाइ थियो।
‘कम्युनिष्टप्रतिको तपाईंहरुको मोहपनि भर्खरै टुटेको छ, दुई वर्ष सरकारमा बसेरपनि संविधान संशोधन भएन,’ यादवले भने, ‘संविधान संशोधन गर्ने सरकारको नियत देखिएको छैन। हामीलाई सहयोग गर्नुस् संविधान संशोधन हुन्छ।’