काठमाडौं - हुँदै नभएका कर्मचारी कार्यरत रहेको देखि शव ओसारेको देखाएर साढे ३१ लाख भ्रष्टाचार गरेको अभियोगमा एकजना प्रहरीका पूर्व डिएसपीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाका तत्कालीन डिएसपी त्रिलोकबहादुर चन्दसहित पाँच जनाविरुद्ध ३१ लाख ५९ हजार ५ सय ६० रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले डिएसपी चन्दसहित कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका तत्कालीन लेखापाल भक्त बहादुर शाही, लेखापाल सई माधवचन्द ठकुरी, लेखाशाखामा कार्यरत लेखा सहायक हवल्दार टंकबहादुर मल्ल र जवान सर्वराज खत्रीविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।
उनीहरू पाँचजना मिलेर सिपाहीको नाममा नक्कली हस्ताक्षर गरी दैनिक तथा भ्रमणभत्ता निकाल्ने, शव ओसारेको भनी नक्कली बिल बनाएर पैसा निकाल्ने गरेर २०७२ असोजदेखि २०७३ असारसम्म उक्त भ्रष्टाचार गरेको अख्तियारले ठहर गरेको छ।
कोलेनिकाका लेखापाल भक्तबहादुर शाहीले जिल्ला प्रहरी कार्यालय हुम्लाको त्यतिबेलाको लेखापरीक्षण गर्ने क्रममा प्रहरी कर्मचारीहरुको तलब, स्थानीय भत्ता तथा रासन भत्तासमेतको भरपाईमा जोडजम्मामा फरक पारी बढी खर्च लेखेको पाइएको अख्तियारले जनाएको छ।
प्रहरी कर्मचारीको रासन भत्ता शीर्षकमा स्वीकृत नम्स भन्दा अस्वाभाविक रुपमा बढी दरमा खर्च भुक्तानी लेखी, निकाली सरकारी रकम हिनामिना गरेको देख्दादेख्दै लेखापरीक्षण गर्दा शाहीले बदनियतपूर्वक कारोबारमा नभएको कुरा देखाएको भन्दै अख्तियारले उनीविरुद्ध पनि मुद्दा दायर गरेको छ।