काठमाडौं । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर पाइलटको भौगोलिक अज्ञानताका कारण दुर्घटना भएको छानबिन प्रतिवेदनले औंल्याएको छ। दुर्घटनाको एक वर्षपछि सार्वजनिक प्रतिवेदनअनुसार पाइलटले पाथीभरा क्षेत्रमा पहिलोपटक हेलिकप्टर ल्यान्ड गरेका थिए र त्यहाँको भौगोलिक वस्तुस्थितिबारे उनी अनभिज्ञ थिए ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायत ७ जना बोकेको हेलिकप्टर गत वर्ष फागुन १५ गते दुर्घटना हुँदा हेलिकप्टरमा रहेका सबैको मृत्यु भएको थियो । दुर्घटनाको छानबिनका लागि सरकारले यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो ।
समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा पाइलटले मौसमको प्रतिकूलता, एयरक्राफ्टको सीमितता र इन्धन आदिको अवस्थाबारे कुनै मूल्यांकन नगरेको उल्लेख छ । प्रतिवेदनका अनुसार पाइलटले हेलिकप्टर स्टार्ट गर्नेबित्तिकै उडाउने प्रयास गरेका थिए ।
तर त्यहाँको मौसमअनुसार केही समय हेलिकप्टर स्टार्ट गरेर रोक्नुपर्छ । यसो गर्दा हेलिकप्टरभित्र भएको वाफ हट्छ र भिजन क्लियर हुन्छ । प्रतिवेदनअनुसार हेलिकप्टर स्टार्ट भएको १ मिनेट २८ सेकेन्डमा नै उडेको देखिन्छ।
हिउँ परिरहेको पाथीभरा क्षेत्रमा मन्त्रीको टोली ४५ मिनेटमात्र बसेको र वाइपरले हिउँ हटाउन नसक्ने हुँदा हिउँ हटाउने अन्य कुनै साधनको समेत प्रयोग नभएको प्रतिवेदनमा उल्लेख छ । हिउँले नै भिजिविलिटी कम बनाएको र उड्ने क्षमता पनि कम बनाएको प्रतिवेदनले औंल्याएको छ ।
प्रतिवेदनअनुसार हेलिकप्टर पाथीभरा जाने सूचना काठमाडौं टावरलाई समेत थिएन । काठमाडौंबाट उडेको एयर डाइनेष्टीको उक्त हेलिकप्टरको उडान काठमाडौं–तेह्रथुम–काठमाडौंका लागि मात्र निर्धारित गरिएको थियो । तर अधिकारी र आङछिरिङ शेर्पाको आग्रहका कारण पाइलटले पाथीभरा उडान गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै प्रतिवेदनमा हेलिकप्टरको अगाडिको सिटमा दुईजना बसेकोे पनि उल्लेख छ । यसले गर्दा ब्यालेन्स गुम्ने खतरा हुन्छ । बढी तौललाई पनि दुर्घटनाको सहायक कारक मानिएको छ ।