जनकपुरधाम- महेन्द्रनारायण निधि नेपाली राजनीतिको इतिहासमा बिर्सन नसक्ने नाम। गान्धीवादी, निष्ठावान्, प्रतिबद्धलगायत विशेषण जोडिन्छ उनको नाउँअगाडि।
१९७८ मा फागुन १३ मा धनुषाको नगराइनमा जन्मेका निधिले मुलुकमा प्रजातन्त्र स्थापनार्थ पुर्याएको योगदान स्मरणीय छ।
राणा र पञ्चायतविरुद्ध संघर्ष गरेका उनी जीवनको अन्तिम घडीसम्म मुलुक र समाजप्रति समर्पित रहे।
राजनीतिक यात्राका क्रममा कयैन् पटक जेलनेल र निर्वासन बसेका निधिले शासकसामु घुँडा टेकेनन्।
मुलुकमा प्रजातन्त्र स्थापना र अन्यायविरुद्ध संघर्ष गर्न तयार रहे पनि उनले कहिल्यै हिंसा रुचाएनन्। प्रजातन्त्र र जनअधिकार शान्तिपूर्ण आन्दोलनबाटै पाउन सकिने उनको मान्यता थियो।
निधि २०४६ को जनआन्दोलनपछि कांग्रेसका महामन्त्री र जलस्रोतमन्त्रीसमेत बने।
महेन्द्र नारायणका जेठा छोरा नवेन्द्र भन्छन्, ‘बुबा नीति र सिद्धान्तप्रति निष्ठावान हुनुहुन्थ्यो। प्रजातन्त्र स्थापना उहाँ अहोरात्र खटिनुभयो।’
नवेन्द्रका अनुसार मेहन्द्रनारायण निधि राजनीतिमा लागेपछि उनका पितालाई निकै चिन्ता लागेछ छोरा बिग्रियो भनेर। ‘सँगै काठमाडौं जाँदा उहाँले पाएको सम्मान देखेर हजुरबा आश्चर्यचकित हुनुभएको थियो रे।’
‘विमलेन्द्रजीलाई (कांग्रेस उपसभापति) को एसएलसी दिने समय थियो। तर उहाँ जेलमा हुनुहुन्थ्यो,’ राष्ट्रियसभाका पूर्वसांसद महेन्द्र मिश्र भन्छन्, ‘तत्कालीन अञ्चलाधीशले महेन्द्रजीलाई बोलाएर छोरो जिम्मा लिनुस्, छोडिदिन्छौं भनेका थिए।’
तर महेन्द्रनारायणले अञ्चलाधीशसँग ‘म आफ्नै जिम्मा लिन सक्दिनँ, छोरोका जिम्मा कसरी लिनु’ भन्ने जबाफ फर्काएका थिए।
निधिको निष्ठाबाट अहिलेका राजनीतिज्ञहरुले शिक्षा लिनुपर्ने मिश्रको भनाइ छ। पार्टी विधानलाई सर्वोपरि ठात्रे महेन्द्रनारायणले कहिल्यै गलत नगरेको उनले बताए।
अहिलेको राजनीतिमा परिवारवाद हावी रहेका बेला महेन्द्र नारायणले अपनाएको सिद्धान्त पालन गर्नु आवश्यक रहेको कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेन्द्र यादव बताउँछन्।
आईएससी उत्तीर्ण गरिसकेका जेठा छोरा नवेन्द्रलाई इन्जिनियरिङ पढ्न उनले सिफारिस नगरेको प्रसंग कोट्याउँदै यादवले भने, ‘महेन्द्रजीले सिफारिस गरेपछि भारतीय दूतावासले अस्वीकार गर्न सक्दैनथ्यो होला। तर उहाँले आफ्नै छोराको समेत सिफारिस गर्नु भएन।’
बुबाले इन्जिनियरिङ पढ्न दूतावासमा सिफारिस नगरेपछि बाध्य नवेन्द्रले विज्ञान विषयमा स्नातक र त्यसपछि स्नातकोत्तर गरे।
नैतिकता, इमान र प्रतिबद्धता महेन्द्रनारायण निधिको पर्यावाची रहेको नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव बताउँछन्।
सादा जीवन र उच्च विचारका धनी उनी नेपाली कांग्रेसभित्र गान्धीवादी छविका हासिल गरेको यादवको भनाइ छ। नेपालको वर्तमान राजनीतिक सन्दर्भमा उहाँले अपनाएको शैली अनुसरण गर्नुपर्नेमा यादवको जोड थियो।