काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा आएर आफ्ना प्रश्नको सामाना गर्न चुनौती दिएका छन्। थापाले प्रधानमन्त्रीलाई डाँडाकाँडा, तालतलैया घुम्न नभई संसदमा आएर आफूहरुसँग आँखामा आँखा जुधाएर प्रश्नको जवाफ दिन भनेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा धारणा राख्ने क्रममा थापाले सञ्चारमन्त्रीको घूस लेनदेन प्रकरणको अडियोबारे प्रधानमन्त्रीले केही महिनाअघि नै थाहा पाएको दाबीहरु आएको बताए। उनले भने,‘घूस लेनदेन प्रकरणबारेको अडियो हामीले फागुन ९ गते सुन्यौं। यो वार्तालाप सम्माननीय प्रधानमन्त्रीज्यूले केही महिनाअघि नै सुन्नु भएको थियो भन्ने अनुमानहरु होइन, दाबीहरु सञ्चारमाध्यममा आएका छन्। यसको बारेमा संसदमा उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रा प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्रीज्यूसँग छ कि छैन? प्रधानमन्त्रीज्यूसँग हिम्मत छ कि छैन, मलाई थाहा छैन। तर संसदसँग यो हिम्मत हुनैपर्छ।’ थापाले सभामुखले यसबारे ध्यानाकर्षण मात्र गराएर नहुने बताए। उनले भने, 'सभामुख महोदय ! ध्यानाकर्षण मात्र गराएर हुँदैन। सम्माननीय सदनले यो हिम्मत राख्नैपर्छ।’
नेता थापाले सदनमा आएर प्रधानमन्त्रीलाई जवाफ दिन आग्रह गरे। उनले आफूहरु प्रधानमन्त्रीलाई निम्छरो नभई सही प्रश्न सोध्न तयार रहेको बताए। ‘प्रधानमन्त्रीज्यू ! डाँडाकाँडा, तालतलैया घुमेर होइन सदनमा आउनुपर्छ, यहाँ उभिनुपर्छ, हाम्रा प्रश्नको सामना गर्नुपर्छ। हामी यहाँ बसेर उहाँलाई निम्छरो प्रश्न होइन, सही प्रश्नहरु सोध्नेछौं,’ थापाले भने। उनले प्रधानमन्त्रीलाई संसदमा आउन रुलिङ गर्न सभामुख समक्ष मागसमेत गरे।
उनले प्रधानमन्त्रीका केही आसेपासेले कमिसन काण्डबारे प्रधानमन्त्रीलाई थाहा नभएको बताइरहेको भन्दै प्रधानमन्त्रीलाई के थाहा छ भन्दै प्रश्न गरे। थापाले भने, ‘उनकै चुलो चलाउने, प्रधानमन्त्रीको तुलोमा राख्दा कसैले नभ्याउने अनि प्रधानमन्त्रीकै भनाइमा काभ्रेले आजसम्म नजन्माएको सर्वाधिक प्रतिभाशाली प्रधानमन्त्रीको प्रवक्ताले गर्नुभएको यी कुराहरु प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याइदिनुपर्ने? हामीले पत्याउने नै हो भने हामो प्रश्न रहन्छ, यो सबै कुरा तपाईंलाई थाहा छैन भने प्रधानमन्त्रीज्यू तपाईंलाई के थाहा छ?'