बेइजिङ- चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या दुई हजार सात सय पुगेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनमा कोरोनाबाट दुई हजार ६ सय ६३ र चीनबाहिर ३५ को मृत्यु भएको छ।
कोरोना संक्रमणबाट चीनबाहिर इरानमा सबैभन्दा बढी १२ जनाको मृत्यु भएको छ। यस्तै, दक्षिण कोरिया तथा इटालीमा ७–७, जापानमा ४,
हङकङमा २ र फिलिपिन्स, फ्रान्स तथा ताइवानमा १–१ को मृत्यु भएको छ।
सोमबारसम्म ८० हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको बताइएको छ।
चीनपछि सबैभन्दा धेरै संंक्रमण फैलिएको दक्षिण कोरियामा संंक्रमितको संंख्या आठ सय ९३ पुगेको छ। मंगलबार बिहानसम्म दक्षिण कोरियामा थप ६० जना संंक्रमित पाइएका हुन्।
रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार नयाँ बिरामीमध्ये राजधानी सोलमा २, बुसानमा ३, देगुमा १६, जेओङजी प्रान्तमा ५, उत्तरी जियोङसाङ प्रान्तमा ३३, दक्षिण जियोङसाङ प्रान्तमा १ जना कोरोना संक्रमणका नयाँ बिरामी फेला परेका छन्।
पछिल्लो समय भाइरसका कारण मृत्यु हुनेको संख्या बढे पनि संक्रमणको दरमा कमी आएको चिनियाँ सरकारले जनाउँदै आएको छ।
विश्व महामारी!
विश्व स्वास्थ्य संगठनले कोेरोना भाइरसको प्रकोपलाई विश्व महामारी घोषणा गरिहाल्नु हतार हुने जनाएको छ। यद्यपि, यसको संंक्रमण चीन बाहेकका देशमा पनि फैलदै जाँदा त्यसतर्फको तयारी भने गर्नुपर्ने संगठनको भनाई छ।
चीनपछि दक्षिण कोरिया, इटाली, इरानमा कोरोना संक्रमणका घटना बढ्न थालेपछि अमेरिका लगायत विश्वका विभिन्न देशले ती देशमा नजान आफ्ना नागरिकलाई सूचना जारी गरेका छन्।
नेपालले पनि दक्षिण कोरिया जाने नेपाली कामदारको कार्यक्रम हाललाई स्थगित गरेको छ।