बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँस्कोटाले स्याटेलाइटमा पनि भ्रष्टाचार गरेको आशंका

बाँस्कोटाले स्याटेलाइटमा पनि भ्रष्टाचार गरेको आशंका

निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले १२ देशका २२ वटा कम्पनीले नेपालको स्याटेलाइट राख्न रुची देखाएका भएपनि जीटुजीमार्फत एउटै कम्पनीसँग समझदारी अघि बढाएका थिए।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले संविधान संसोधन गर्न बनाइएको कार्यदल भताभुंग भएकोदेखि प्रधानमन्त्री केपीशर्मा ओली दबाबमा परेको विषयसम्मलाई मुख्य समाचार बनाएका छन् ।

आजको कान्तिपुर दैनिकले संविधान संसोधन गर्न बनाइएको कार्यदलको औचित्यमा सदस्यहरुले प्रश्न उठाएको विषयलाई मुख्य समाचार बनाएको छ ।

कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटाले संविधान संसोधनको औचित्यमाथि नै प्रश्न उठाएको समाचारमा उल्लेख छ ।

यस्तै निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले स्याटेलाइट परियोजनामा पनि भ्रष्टाचार गरेको हुन सक्ने आशंका सहितको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ ।

सेक्युरिटी प्रेस खरिदमा घूस मागेको सार्वजनिक भएपछि पदबाट राजीनामा गरेका निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाले स्याटेलाइट परियोजना पनि शंकास्पद ढंगले अघि बढाएको समाचारमा उल्लेख छ ।

उनले १२ देशका २२ वटा कम्पनीले नेपालको स्याटेलाइट राख्न रुची देखाएका भएपनि जीटुजीमार्फत एउटै कम्पनीसँग समझदारी अघि बढाएका थिए।

समाचारमा लेखिएको छ– दूरसञ्चार प्राधिकरणले २०७३ सालमा स्याटेलाइट निर्माणका लागि अन्तर्रा्ष्ट्रिय रूपमा आशयपत्र माग गरेको थियो । जसमा अमेरिका, चीन, भारत, थाइल्यान्ड, सिंगापुर, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रसिया र इजरायलका गरी २२ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए ।

यति धेरै प्रस्ताव परेको भए पनि सरकारले सोझै एक कम्पनीलाई जी–टू–जी प्रक्रियामार्फत स्याटेलाइट निर्माणको जिम्मा दिँदा लागत महँगो पर्ने र सरकारको भूमिका कम हुने जानकारहरू बताउँछन् ।

बिनाप्रतिस्पर्धा एक कम्पनीसँग खरिद गर्न लागिएको भन्दै यो प्रक्रिया आलोचित बनेको छ । यो प्रक्रिया अब के हुने भन्ने नयाँ मन्त्रीको बुझाइ र बाँस्कोटामाथिको छानबिनमा निर्भर रहनेछ ।

आजको अन्नपूर्ण पोस्ट्ले संविधान संसोधन कार्यदल भताभुंग शीर्षकमा मुख्य समाचार छापेको छ भने सुनको मूल्य आकाशिएको विषयलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ।

पारिवारिक विरासतमा आउला कांग्रेस नेतृत्व शीर्षकमा मुख्य समाचार छापेको आजको नागरिक दैनिकले पार्टी भित्र अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली दबाबमा परेको विषयलाई प्राथमिकताका साथ छापेको छ।

उसले लेखेको छ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र डेढ महिनादेखि दबाबमा परेका छन् । पुस २३ गते पार्टीका उपाध्यक्ष वामदेव गौतमको घरमा शीर्ष नेताहरुको बैठक बसेदेखि नै उनी पार्टीभित्रै दबाबमा परेका हुन्।

त्यही दबाबका कारण उनले पार्टीको सचिवालय बैठकमा आफू अनुकूल निर्णय गराउन सकेका नसकेको समाचारमा उल्लेख छ । पार्टीभित्र ओली हावी भइरहेका बेला पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालकै सहभागितामा सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले गौतमको घरमा छुट्टै बैठक गरेका थिए। जुन बैठकले ओलीविरुद्ध मोर्चाबन्दी गर्ने काम गरेको थियो ।

आजको नयाँ पत्रिकाले भने झ्यालबाट संसद् छिर्ने हठमा वामदेव शीर्षकमा मुख्य समाचार छापेको छ । उसले लेखेको छ– उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने मात्र होइन, उनलाई प्रधानमन्त्री हुने गरी बाटो खोल्न संविधान संशोधन गर्ने नेकपाको गृहकार्य विवादमा परेको छ । झ्यालबाट संसद् प्रवेश गर्ने नेता गौतमको हठविरुद्ध नेकपाभित्रै चर्को विरोध भएको छ ।

गत निर्वाचनमा बर्दियाबाट पराजित गौतमले प्रतिनिधिसभा सदस्य बन्न पटकपटक गरेको कोसिस असफल भएपछि राष्ट्रिय सभामा प्रवेश गर्ने रहर गरेका हुन् । यसका लागि नेकपा नेतृत्व सहमत छ । तर, उनले राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री हुन पाउनुपर्ने हठ गर्दै आएका छन् । यसमा पनि पार्टीको मूल नेतृत्व सहमत भए पनि कार्यकर्तापंक्ति र जनमानस विरोधमा रहेको समाचारमा उल्लेख छ ।

यस्तै नेपाल आयल निगमकोे सिनामंगलस्थित सबैभन्दा ठूलो हवाई इन्धन डिपोमा तेल बोकेर आउने सबै ट्यांकरको ताला खोल्ने साझा साँचो (मास्टर की) हराएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । साँचो हराएको पुष्टि १९ माघमा भएको हो । तर, अहिलेसम्म नभेटिएको समाचारमा उल्लेख छ ।

प्रकाशित: Feb 25, 2020| 07:07 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।