काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गठन गरेको संविधान संशोधन कार्यदलमा विवाद देखिएको छ। वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन गरिएको कार्यदलका विषयमा सदस्यहरु सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटाले असहमति जनाएका छन्।
कार्यदलको पहिलो बैठक सोमबार (आज) का लागि बोलाइएको थियो। नेम्वाङ र देवकोटाले भने कार्यदललाई दिइएको जिम्मेवारीका विषयमा असन्तुष्टि जनाउँदै कार्यदलमा बस्न अस्वीकार गरेका छन्।
गोप्य रुपमा संविधान संशोधनको कुरा अगाडि बढाउन नसकिने बताउँदै नेम्वाङले कार्यदलमा बस्न अस्वीकार गरेको जनाए। उनले संविधान संशोधन सबैसँग छलफल गरी अगाडि बढाउनुपर्नेमा जोड दिए।
अर्का सदस्य खिमलाल देवकोटाले आफू शासकीय स्वरुप र निर्वाचन प्रणालीका विषयमा संविधान संशोधन गर्न लागिएको भनेर समितिमा बसेको तर विषयवस्तु अर्कै भएपछि असहमति जनाएर सहभागी नभएको बताए ।
उनले भने, ‘राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधन गर्नु उपयुक्त देखिनँ। त्यही भएर समितिमा बस्न अस्वीकार गरेको हुँ।’