दुईदिने भ्रमणका लागि आज भारत आउन लागेका अमेरिकी राष्ट्रिपति डोनाल्ड ट्रम्पले आगरामा दुई घण्टा बिताउनेछन्। ताजमहलको अवलोकन गर्ने र त्यहीँबाट उनले सुर्यास्त हेर्ने कार्यक्रम तय छ ।
ट्रम्पको स्वागत र सुरक्षाका लागि केही दिनदेखि पूरा आगरा सहर जुटेको थियो । सडकहरु धोइपखाली सुग्घर बनाइएको छ। सुरक्षा बन्दोबस्तका लागि मुख्यमन्त्री आफैं खटेर सुरक्षा निकायलाई निर्देशन दिइरहेका छन्।
आज (सोमबार) अपरान्ह चार बजे ट्रम्प पत्नी मेलानियाँका साथ आगरा पुग्नेछन्। ताजमहल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। होटल, रेष्टुरेन्टदेखि लिएर व्यक्तिका घरमा समेत सुरक्षाकर्मी तैनाथ छन्। ट्रम्प आइपुग्नु भन्दा चार घण्टा अघिदेखि नै ताजमहलमा कसैलाई प्रवेश गर्न दिइनेछैन ।
आगराको खेरिया विमानस्थलदेखि ताजमहलसम्म करिब तीन हजार कलाकारले ट्रम्पको स्वागत गर्नेछन्। सडक किनारमा फूलसहितका गमला राखेर सजाइएको छ।
ट्रम्पको सुरक्षालाई मध्यनजर गरेर पास भएका मानिसलाई मात्र सडकमा आउन पाउने व्यवस्था गरिएको छ। त्यसो त जनावरबाट हुन सक्ने सम्भावित हमलाबारे पनि सुरक्षाकर्मी सचेत छन्। ताजमहल आसपास अक्सर पर्यटकहरु बाँदरको आक्रमणमा पर्ने गर्छन्। बाँदरलाई लखेट्न तालिमप्राप्त लंगूर परिचालन गरिने भएको छ। प्रहरीले यसका लागि वन विभागसँग सहयोग मागेको छ।
ताजमहल आसपास छाडा गाईवस्तु र कुकुर पनि उत्तिकै हुन्छन्। तिनलाई हटाउन पनि चुनौती छ प्रशासनलाई ।
बीबीसी