बिहीबार, भदौ ४, २०८३

छाउप्रथा हटाउन मन्त्रीको होम

गत शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले शिवरात्रीको अवसरमा जुम्लाको चन्दननाथ मन्दिरमा पुगी छाउपडी, बालविवाह, बहुविवाह जस्ता कुरिती अन्त्य गर्न भन्दै होम हाले ।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

काठमाडौं– नेपालको पश्चिमी क्षेत्रमा रहेको छाउप्रथालाई हटाउन भन्दै प्रहरी र प्रशासन अघिल्लो महिना कर्णाली र सुदूरपश्चिम क्षेत्रमा सामेल भयो । छाउप्रथा उन्मूलन गर्ने अभियानअन्तर्गत करिब १३ सय छाउगोठ भत्काइए ।

अघिल्लो दिन भत्काइएका केही छाउगोठ भोलिपल्टै उठे, केही महिला महिनावारीको समयमा घरबाहिरै ओछ्यान लगाएर त कोही गोठमा सुतेका समाचारले सञ्चारमाध्यममा प्राथमिकता पाए। तर, गृह मन्त्रालयको निर्देशनमा करोडौं खर्च भएको अभियान सफल भएको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले दाबी पनि गरेको छ ।

महिनावारी सम्बन्धी पहिला मनको गोठ भत्काउनुपर्छ, अनिमात्रै छाउगोठ भत्काउनुपर्छ भन्ने आवाज उठिरहे पनि मन्त्रालयले भने छाउगोठ भत्काउनु नै उत्तम विकल्प मान्यो । वर्षौंदेखि जकडिएर बसेको मानसिकतालाई एकदिने अभियानले कति सफल बनाउला भन्ने विषयलाई मन्त्रालयले ध्यान पुर्याउन नसकेको टिप्पणी धेरैले गरे ।

होम हालेर महिनावारी स्वाहा !

गत शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले शिवरात्रीको अवसरमा जुम्लाको चन्दननाथ मन्दिरमा पुगी छाउपडी, बालविवाह, बहुविवाह जस्ता कुरिती अन्त्य गर्न भन्दै होम हाले ।

कुरिती अन्त्यको अभियानअन्तर्गत नै होममार्फत् छाउप्रथा हटाउने प्रयास गरेको मन्त्री गुरुङ बताउँछन् । छाउपडी नमान्दा देउता रिसाउने मानसिकता भएकोले त्यो मानसिकता चिर्न भगवानलाई नै होम हाली कुरितीलाई स्वाहा गरेको गुरुङको तर्क छ ।

अछाममा छाउगोठमा महिलाको मृत्युपछि गृह मन्त्रालयले सबै जिल्लामा छाउगोठ भत्काउन निर्देशन दिएको थियोे । अभियान देशभर नै चल्यो । सोही अभियानअन्तर्गत मन्त्री गुरुङले जुम्लामा पुगेर होम हालेका थिए ।

२०६३ वैशाख २६ गतेको मन्त्रिपरिषद् निर्णयले महिनावारी हुँदा गोठमा बस्ने र बस्न पठाउने दुवैलाई कारबाहीको व्यवस्था गरेको छ । तर कानुनले कतिपय सामाजिक मूल्य मान्यतलाई झट्टै सुधार्न सक्दैन भन्ने उदाहरण पनि भोलिपल्टै उठ्ने छाउगोठले प्रष्ट पारेका छन् ।

२०७६ साललाई लैंगिक हिंसा विरुद्धको अभियान वर्षका रुपमा घोषणा गरिएको छ । सोही अभियानअन्तर्गतको एक अभियानको रुपमा छाउगोठ भत्काउने अभियानलाई राखिएको छ ।

यसै सन्दर्भमा महिनावारीको समयमा महिलामाथि हुने विभिन्न दुर्व्यवहार, कुरिती हटाउने र महिला सशक्तीकरणका लागि नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी हुने भएको छ ।

आउँदो जेठ १६ गते दोस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारी कार्यक्रम गर्न लागिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले पत्रकार सम्मेलन गरेर जनाएको छ । जेठ १३, १४ र १५ गते हुने गोष्ठीमा विभिन्न ३० देशका दुई सय भन्दा बढीको सहभागिता रहने छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मानव अधिकार आयोगको संयुक्त आयोजनामा विश्वस्तरमा मर्यादित महिनावारीमा साझा अवधारणा निर्माणका लागि कार्यशाला गर्न लागिएको हो ।

के हो मर्यादित महिनावारी ?

राधा फाउण्डेसनकी संस्थापक राधा पौडेलका अनुसार महिनावारी केवल पाँच दिन बग्ने रगत मात्र होइन । यो त जीवनभरको सरोकारको विषय हो । महिनावारी भएका बेला सबै युवती, महिला र व्यक्ति मर्यादा पूर्वक जिउन पाउनुपर्ने मानव अधिकार हो । मर्यादित महिनावारीअनुसार २५ दिन र ५ दिनमा कुनै पनि किसिमको विभेद, हिंसा हुनु हुँदैन ।

पौडेलका अनुसार मर्यादित महिनावारीले महिनावारीको सम्बन्धमा रहेको गहिरो अन्धविश्वास, डर र मौनतालाई घरघर, टोलटोल, स्कुलस्कुल वा जहाँतहीँबाट महिनावारीको जैविक महत्वको बारेमा बाबुछोरी, आमाछोरा, दिदीभाइबीच वार्ता, वहसको माग गर्दछ ।

नेपालमा महिनावारी अभियान

२०६२ देखि अछाम, बाजुरा र दैलेखमा महिलाहरु छाउगोठमा मरेका खबर सुनिन थालेसँगै सर्वोच्च अदालतले २०६१ सालमा निर्देशिका बनाएर समस्या समाधान गर्न आदेश दिएको थियो । त्यसको करिब तीन वर्षपछि सन् २०६४ मा महिला मन्त्रालयले निर्देशिका जारी गर्यो । तर त्यति प्रभावकारी हुन सकेन ।

त्यसपछि २०७३ मा सरकारले कानुन निर्माण गरी २०७४ बाट लागू हुने गरी कानुन बन्यो । अन्ततः सन् २०७६ मा अछाममा मृत्युवरण गरेकी पार्वती बुढाका जेठाजुलाई प्रहरीले पक्राउ गर्यो । गत डिसेम्बरमा विश्वमा नै पहिलो मर्यादित महिनावारी दिवस १४ वटा जिल्लामा मनाइएको थियो ।

प्रकाशित: Feb 23, 2020| 15:48 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।