काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले गोकुल प्रसाद बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ भन्ने कुरा पुष्टि भएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महतले बाँस्कोटाको टेप प्रकरण वर्तमान सरकारको भ्रष्टाचारबारे सानो ‘इपिसोड’ मात्रै भएको टिप्पणी गरे। उनले भने, ‘यो सरकारका अरु धेरै काण्डहरु छन्। अहिले एकपछि अर्को काण्ड बाहिरिएसँगै नेपाली जनताले पनि अब त भूल गरिएछ भनेर सोच्न थालेका छन्। सरकारले जनतालाई नारामात्रै देखाएको रहेछ भन्ने कुरा अहिले आएर पुष्टि भयो।’
उनले वर्तमान सरकार फोरजी काण्ड, यति काण्डदेखि अनेकौँ काण्डमा फसेको आरोप लगाए।
उनले भने, ‘गोकुल बाँस्कोटालाई माथिबाट निर्देशन र संरक्षण भएको छ। यो प्रकरणमा गम्भीर छानबिन हुनुपर्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जवाफ दिनुपर्छ। हामीले यो प्रकरणमा विरोध गरिरहेका छौँ। प्रधानमन्त्रीले यो प्रकरणमा मात्रै होईन, सबै भ्रष्टाचारका काण्डबारे संसदमा स्पष्ट जवाफ दिनुपर्छ। समग्र काण्डमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ।’
गोकुल प्रसाद बाँस्कोटाको बारेमा प्रधानमन्त्रीले तुलोको एकातिर गोकुल र अर्कोतिर सबै राख्दा पनि गोकुल नै भारी हुने भनेर बोलेको कुराबाट पनि भ्रष्टाचारमा गोकुल एक्लैको हात नभएको उनको टिप्पणी छ। उनले भने, ‘अहिले त प्रधानमन्त्रीलाई आफ्नो बोली आफैंलाई भारी भएको छ। यो सरकार काम चाहिँ उल्टोउल्टो गरिरहेको छ। कामभन्दा बढि गफ गरिरहेको छ।’
महतले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेको बताउँदै यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने बताए। उनले भने, ‘यसमा कुनै सैन्य गठबन्धनको कुरा छैन। तर, नेपालमा त नभएको कुरा अफवाह फैलाउने गरिएको छ। यो दुःखद् कुरा हो।’
एमसीसीमार्फत नेपालमा आउने सहयोग अनुदान भएको सुनाउँदै यो नेपालले प्राथमिकता गरेको क्षेत्रमा खर्च हुने महतले बताए।
विगतमा अरुण तेस्रो विद्युत परियोजना तुहाईएको जस्तै एमसीसी पनि गुमाउने खतरा आएको उनको भनाई छ। उनले नेकपाले सरकारमा हुँदा एउटा कुरा र सरकारमा नहुँदा अर्कै कुरा गरेको टिप्पणी गरे।