काठमाडौं– घूस काण्डमा मुछिएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको सार्वजनिक भएको अडियोमा कर्मचारीलाई अपशब्द प्रयोग भएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ। अडियो सार्वजनिक भएको ३ दिनपछि कांग्रेसले विज्ञप्ति निकालेर आपत्ति जनाएको हो।
सेक्युरिटी प्रेस खरिदका सम्बन्धमा स्वीस कम्पनीका स्थानीय प्रतिनिधिसँग कमिसनको कुरा गर्ने सन्दर्भमा राष्ट्रसेवक कर्मचारीहरुलाई बाँस्कोटाले प्रयोग गरेको भाषाप्रति गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ।
‘नेपाल सरकारको मन्त्रीजस्तो गरिमामय पदमा रहेर अत्यन्तै अमर्यादित, अशोभनीय एवं आपत्तिजनक भाषा प्रयोग गर्नु निन्दनीय एवं लज्जास्पद विषय हो। यस कार्यको नेपाली कांग्रेस संसदीय दल घोर आपत्ति प्रकट गर्दछ,’ आइतबार नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको क्रियाकलापले गर्दा राष्ट्र सेवक कर्मचारीलाई पर्न गएको आघातप्रति नेपाली कांग्रेस संसदीय दल घोर भर्त्सना गर्दछ।’
यसअघि पनि निवर्तमान मन्त्री बाँस्कोटाले अपशब्द प्रयोग गरेको भन्दै कर्मचारी संगठनहरुले विरोध जनाइसकेका छन्।
बिहीबार बिहान सार्वजनिक भएको अडियोमा बाँस्कोटाले सरकारी कर्मचारीलाई लक्षित गरेर अपशब्द बोलेको पाइएको छ।