बुधबार, चैत ११, २०८२

अब गणित, अंग्रेजी र विज्ञानमा स्वयंसेवक शिक्षक

सरकारले सामुदायिक विद्यालयमा गणित, अंग्रेजी र विज्ञान विषय पढाउन स्वयंसेवक शिक्षक खटाउने भएको छ।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

काठमाडौं– सरकारले सामुदायिक विद्यालयमा गणित, अंग्रेजी र विज्ञान विषय पढाउन स्वयंसेवक शिक्षक खटाउने भएको छ। यी तीन विषय र प्राविधिक धारका विद्यालयमा शिक्षक अभाव परिपूर्ति गर्न शिक्षा मन्त्रालयले शिक्षण स्वयंसेवक खटाउन लागेको हो।

National life

कार्यक्रममा स्नातक र स्नातकोत्तर उत्तीर्ण युवा सहभागी हुन पाउनेछन्। मन्त्रालयले माघ ३० गते कार्यविधि पारित गरेको छ।

आगामी शैक्षिक सत्रका लागि एक साताभित्र आवेदन खुलाउने तयारी शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गरेको छ।

देशको भौगोलिक स्थितिको ज्ञानका साथै व्यावहारिक तथा जीवनोपयोगी सीप प्राप्त गर्ने अवसर दिन युवालाई स्वयंसेवकका रूपमा खटाउन लागिएको केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलियाले जानकारी दिए।

स्वयंसेवक युवाले सातामा कम्तीमा २४ पिरियड पढाउनुपर्नेछ भने मासिक पारिश्रमिक स्नातक तह उत्तीर्णले २४ हजारदेखि ३० हजार रुपैयाँसम्म र स्नातकोत्तर उत्तीर्णले २६ हजारदेखि ३२ हजार रुपैयाँसम्म पाउनेछन्।

Laxmi sunrise bank
kumari

उनीहरूले मासिक एक दिन भैपरी आउने बिदा वा पर्व बिदा पाउने कार्यविधिमा उल्लेख छ ।

कम्तीमा एक वर्षका लागि खटिने स्वयंसेवकले शिक्षण अनुमतिपत्र लिनु पर्दैन। महानिर्देशक थपलियाले भने, ‘स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण भए हुन्छ। यो स्वयंसेवा गर्ने एउटा अवसर हो। शिक्षकको जागिर होइन ।’

स्नातकले कक्षा ६ देखि ८ सम्म र स्नातकोत्तरले ९–१२ सम्म पढाउनुपर्नेछ। औपचारिक परीक्षा तथा निरन्तर विद्यार्थी मूल्यांकन प्रणालीलाई प्रयोग गरी अध्यापन गर्नुपर्नेछ।

गणित, विज्ञान, अंग्रेजीलगायत अन्य प्राविधिक विषयका कारण एसईई नतिजामा अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेपछि सरकारले स्वयंसेवक खटाउन लागेको हो।

केन्द्रले अंग्रेजी, गणित, विज्ञान विषय शिक्षकको प्रचलित कानुनबमोजिम दरबन्दी अपुग हुने विद्यालय र शिक्षक अभाव रहेको प्राविधिक धारको विद्यालयमा स्वयंसेवक परिचालन गर्ने गरी स्थानीय तहगत रूपमा संख्या निर्धारण गर्नेछ। यसपछि प्रत्येक स्थानीय तहमार्फत शिक्षकको माग संकलन गरिनेछ ।

त्यसपछि राष्ट्रिय दैनिकमा कम्तीमा सात दिनको म्याद राखेर दरखास्त आह्वान गर्नेछ।

कार्यविधिबमोजिम आफूले स्वयंसेवा गर्न चाहेको स्थानीय तहलाई प्राथमिकतामा राखेर आवेदन दिन सकिने महानिर्देशक डा. थपलियाले जानकारी दिए। स्वीकृत आवेदनलाई विषयगत रूपमा एकीकृत सूची तयार पार्दा आवेदकले रोजेको स्थानीय तहलाई प्राथमिकता दिइने कार्यविधिमा उल्लेख छ।

केन्द्रले आवेदकरूमध्येको प्राथमिकताक्रम, विद्यालयको आवश्यकता तथा आवेदकको स्थायी ठेगाना आदिका आधारमा स्वयंसेवकको सूची स्थानीय तह र सम्बन्धित विद्यालयलाई उपलब्ध गराउनेछ।

स्वयंसेवक छनोट गर्दा शैक्षिक योग्यताको आधारमा उच्चतम अंक ल्याउनेलाई प्राथमिकता दिइनेछ। स्थानीय तहको सिफारिसमा स्थानीय विद्यालयले नियुक्तिको सिफारिस गर्नेछ।

केन्द्रले चैत १५ गतेभित्र भौगोलिक क्षेत्रअनुसार कोटा तोकी स्थानीय तहमा स्वयंसेवक संख्या निर्धारण गर्नेछ भने वैशाख मसान्तभित्र स्वीकृत कार्यक्रमअनुसार बजेट उपलब्ध गराइने व्यवस्था छ।

प्रकाशित: Feb 23, 2020| 14:02 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्