बारा– प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले राज्य र प्रहरी संगठनले सोचेजस्तो एवं आमनागरिकले खोजेजस्तो उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नु प्रहरी कर्मचारीको दायित्व रहेको बताएका छन् ।
बारा, पर्सा र रौतहट जिल्ला तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई २ नम्बर ट्राफिक प्रहरी कार्यालय बारामा आइतबार आयोजित कार्यक्रममा निर्देशन दिँदै प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त कुरा बताएका हुन् ।
प्रहरी समाजको अभिन्न अंग भएकोले आमनागरिकलाई व्यावसायिक एवं सहज रुपमा सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले भने, ‘उत्कृष्ट सेवाको प्रतिफल स्वरुप नागरिकबाट प्राप्त स्याबासी नै हाम्रो उर्जा हो । त्यसैले नागरिक सेवालाई केन्द्रमा राखी थप उत्कृष्ट सेवा दिनेतर्फ सबै प्रहरी कर्मचारीहरु केन्द्रित र दृढ रहनुपर्छ ।’
समुदाय-प्रहरी साझेदारी कार्यक्रम लिएर जाँदा नागरिकले खोजेजस्तो सेवा प्रदान गर्न सकिने उल्लेख गर्दै उनले प्रहरीलाई नागरिक समाजको नजिक जान कार्यक्रमले थप प्रेरित गर्ने र यसले आफ्नै व्यावसायिकता समेत अभिवृद्धि गर्ने बताए ।
अपराध अनुसन्धानलाई निष्कर्षमा पुर्या उन धैर्यता, लगनशीलता र उच्च व्यावसायिकताले मात्र सम्भव हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले लैंगिक तथा घरेलु हिंसा लगायतका घटना न्यूनीकरणका लागि सामुहिक रुपमा एक्यबद्ध भई काम गर्नुपर्ने चर्चा गरे ।