मकवानपुर– गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि सरकारले छानबिन गर्ने जानकारी दिएका छन्। हेटौंडामा आयोजित सुरक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सरकारको तर्फबाट बाँस्कोटामाथि छानबिन हुने बताएका हुन्।
‘नैतिकताका आधारमा बाँस्कोटाजीले राजीनामा दिनुभएको छ। सरकारले उहाँको विषयमा छानबिन गर्ने तयारी गरेको छ,’ मन्त्री थापाले भने, ‘भ्रष्टाचार जस्ता विषयमा सरकार चुप लागेर बस्दैन। छानबिन हुनेमा तपाईंहरुलाई विश्वस्त तुल्याउन चाहन्छु।’
सेक्युरिटी प्रेस खरिदमा बाँस्कोटाले कमिसनको कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दबाबमा प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटालाई राजीनामा दिन लगाएका थिए।
नेकपा सचिवालय बैठकमा पनि बाँस्कोटामाथि पार्टीले पनि छानबिन गर्नुपर्ने कुरा उठेको थियो। पूर्वमाओवादी पक्षधर नेताहरुले बाँस्कोटामाथि छानबिन गरी कारवाही गर्न माग गर्दै आएका छन्।