जनकपुरधाम– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश–२ को सरकार परिवर्तन हुनसक्ने संकेत गरेका छन् । सरकार परिवर्तनबारे आन्तरिक छलफलसमेत सुरु भएको उनको भनाइ छ ।
आइतबारदेखि सुरु भएको १५ दिने मिथिला मध्यमा परिक्रमा उद्घाटन गर्न धनुषाको ठेरा कचुरी पुगेका पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रदेश २ मा सरकार परिवर्तनको लागि आन्तरिक गृहकार्य सुरु भएको बताएका हुन् ।
प्रचण्डले प्रदेश २ मा नेकपा सम्मिलित सरकार बनाउन राष्ट्रिय जनता पार्टी (राजपा) सँग आन्तरिक छलफल भइरहेको बताए । यद्यपि सरकार परिवर्तन कहिले हुने यसबारे प्रचण्डले स्पष्ट पारेका छैनन् ।
मिथिला मध्यमा परिक्रमाको महत्वबारे अधिकांश समय बोलेका उनले परिक्रमा क्षेत्रको विकास गर्न संघीय सरकारले विशेष योजना ल्याउने तयारी गरिरहेको बताए ।
विश्वकै सबैभन्दा लामो धार्मिक यात्राको रुपमा समेत परिचित मिथिला मध्यमा परिक्रमाका पडावहरुमा धर्मशालाका साथै सडक स्तरोन्नति गर्नुपर्नेमा प्रचण्डले जोड दिएका छन् ।