बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अर्थमन्त्री खतिवडाकाे ठाउँमा वामदेवलाई सांसद बनाइने

अर्थमन्त्री खतिवडाकाे ठाउँमा वामदेवलाई सांसद बनाइने

डेढ वर्षको कसरतपछि वामदेव गौतम मनोनीत अर्थमन्त्री युवराज खतिवडालाई प्रतिस्थापन गर्दै राष्ट्रिय सभामा प्रवेश गर्ने भएका छन् ।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

काठमाडौं- डेढ वर्षको कसरतपछि नेकपा नेता वामदेव गौतम ‘मनोनीत सांसद’का रूपमा संसद प्रवेश गर्न तयार भएका छन् । उनी युवराज खतिवडालाई प्रतिस्थापन गर्दै राष्ट्रिय सभामा प्रवेश गर्न सहमत भएका हुन् ।

अर्थमन्त्री खतिवडाको कार्यकाल यही २० फागुनमा सकिँदै छ । नेकपाको शनिबार बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई लैजाने समझदारी बनेको हो ।

‘वामदेव गौतम कमरेडलाई राष्ट्रिय सभामा लैजाने सहमति बनेको छ । औपचारिक निर्णय हुन बाँकी छ । कानुनी प्रक्रिया पूरा गरेपछि औपचारिक निर्णय हुन्छ,’ नेकपा सचिवालयका एक सदस्यले बताए ।

यसअघि नेता गौतमले राष्ट्रिय सभा सदस्यसमेत प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन नभएसम्म सांसद नबन्ने सर्त राख्दै आएका थिए । प्रतिनिधिसभा सदस्य मात्र प्रधानमन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

नेकपा उच्च स्रोतका अनुसार अनुकूल परिस्थितिमा संविधान संशोधन गर्ने प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताको आश्वासनपछि गौतमले आफ्नो पुरानो अडान छाडेका हुन् ।

प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेर पार्टी सहमतिको जानकारी गराइसकेका छन् । शनिबार सचिवालय बैठकलगत्तै पहिला प्रचण्ड र त्यसपछि प्रधानमन्त्री ओली शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए ।

संसद्को ०७४ को चुनावमा बर्दिया–१ बाट पराजित भएका गौतम डेढ वर्षदेखि संसद् प्रवेश गर्न अनेकन प्रयास गर्दै आएका थिए । ‘अन्तर्घात’का कारण उनले चुनाव हारेको भन्दै पार्टीले पनि गौतमलाई सांसद बनाउने कोसिस गरेको थियो ।

पछिल्लोपटक गौतमलाई ओली र प्रचण्डले रवीन्द्र अधिकारीको निधनपछि खाली भएको कास्की–२ मा चुनाव लड्न प्रस्ताव गरेका थिए । तर, गौतमले अन्तर्घातको खतरा रहेको र चुनाव हारिने भन्दै आफू कास्की–२ बाट चुनाव नलड्ने सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए ।

त्यसअघि डोल्पाका धनबहादुर बुढा र काठमाडौं–८ का रामवीर मानन्धरलाई राजीनामा गर्न लगाएर गौतमलाई चुनावी मैदानमा उतार्नेसम्मको चर्चा भएको थियो ।

तर, अनुकुल परिस्थिती नबनेपछि गौतम त्यसबाट पनि पछि हटेका थिए । सुरुमा राष्ट्रिय सभा सदस्य समेत बन्न नमानेका उनी अन्ततः शनिबारको सचिवालय बैठकमा राष्ट्रिय सभामा प्रवेश गर्न सहमत भएका हुन् ।

प्रकाशित: Feb 23, 2020| 08:08 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।