काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले शनिबार बसेको नेकपा सचिवालयको बैठक र त्यसका निर्णयहरुलाई प्राथमिकताका साथ छापेका छन् ।
बैठकले एमसीसी संसोधन गरेर पारित गर्ने निष्कर्ष निकालेको छ भने वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसद् बनाउने सहमति जुटाएको छ ।
यस्तै नेकपाको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले ७० करोड कमिसन काण्डमा मुछिएका तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि पार्टीले छानविन गर्न नपर्ने भनि गरेको प्रस्तावलाई पनि आजका पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन् ।
आजको नयाँ पत्रिकाले प्रेस किन्न पासपोर्ट छपाइ रद्द शीर्षकमा मुख्य समाचार छापेको छ।
समाचारमा लेखिएको छ– नेपाल सरकारले पनि आगामी वर्ष अर्थात् सन् २०२१ देखि इ–पासपोर्ट जारी गर्ने तयारी गरेको छ । त्यसैका लागि ५० लाख पासपोर्ट छाप्न खोलिएको टेन्डर गत कात्तिकमा अचानक रोकियो । कारण ? सेक्युरिटी प्रेसको खरिद अत्यावश्यक छ भन्ने देखाउन पासपोर्ट छाप्ने प्रक्रिया रद्द गरिएको थियो ।
प्रधानमन्त्री ओली र सञ्चारमन्त्री बाँस्कोटा इ–पासपोर्ट छपाइको ठेक्का रद्द गराएर सेक्युरिटी प्रेस खरिदको प्रक्रियालाई तीव्र गतिमा अघि बढाउन चाहन्थे ।
तर, प्रतिस्पर्धामा रहेको स्विस कम्पनी केबिए नोटासिसका नेपाली एजेन्टले घुसको लेनदेनको बारेमा तत्कालीन सञ्चारमन्त्री बाँस्कोटासँग गरेको मोलमोलाइको अडियो सार्वजनिक भएपछि प्रेस खरिद प्रक्रिया पनि अब रोकिएको छ । यससँगै राहदानी विभाग पासपोर्ट्विहीन हुने अवस्था सिर्जना भएको समाचारमा उल्लेख छ ।
तिनै ७० करोड कमिसनका लागि मोलमोलाई गर्ने गोकुल बाँस्कोटामाथि पार्टीले छानविन गर्न नपर्ने भन्दै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा प्रस्ताव गरेको नयाँ पत्रिकाले लेखेको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा बाँस्कोटाको अडियो प्रकरणमाथि छलफल गरेर पार्टीले धारणा तय गर्नुपर्ने विषयमा आवाज उठेको थियो ।
तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नैतिकताका आधारमा बाँस्कोटाले राजीनामा दिएर छानबिनका लागि ढोका खुला गरिसकेकाले अब पार्टीले थप निर्णय गरिरहनुनपर्ने भन्दै ‘च्याप्टर क्लोज’ गर्न प्रस्ताव गरेका थिए । अब यसविषयमा नेपकाले बाँस्कोटामाथि छानविन नगर्ने भएको छ ।
यस्तै नयाँ पत्रिकाले डेढ वर्षको कसरतपछि वामदेव गौतम ‘मनोनीत सांसद’का रूपमा संसद् प्रवेश गर्न तयार भएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ।
नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई लैजाने समझदारी बनेको हो । मनोनीत अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २० फागुनमा सकिँदै छ । उनकै ठाउँमा गौतमलाई लैजान लागिएको नयाँ पत्रिकाले लेखेको छ ।
आजको कान्तिपुर दैनिकले बाँस्कोटामाथि छानबिनबारे मतभेद शीर्षकमा मुख्य समाचार छापेको छ । नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच छानविन गर्ने नगर्ने विषयमा मतभेद देखिएको समाचारमा उल्लेख छ ।
प्रचण्ड बाँस्कोटामाथि प्रश्न उठेकाले पार्टीमा पनि छलफल हुनुपर्ने र छानविन गरिनु पर्ने पक्षमा छन् भने ओली राजीनामा गरिसकेकाले छानविन गर्न आवाश्यक नरहेको बताउँदै आएका छन् ।
यस्तै दक्षिण कोरियामा बढेको कोरोना भाइरसको त्रासलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ । कोरियाको थिगु सहरमा मात्रै २ सय २९ जना संक्रमित भएका छन् । जहाँ ७ हजार नेपाली रहेको समाचारमा उल्लेख छ ।
आजको अन्नपूर्ण पोस्ट्ले एमसीसी संसोधनमा ओली तयार शीर्षकमा मुख्य समाचार छापेको छ भने नागरिक दैनिकले एमसीसी संसोधनका पक्षमा नेताहरु शीार्षमा खबर लेखेको छ ।