कैलाली - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्। धनगढीमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले लोकतन्त्रको आवरणमा लुटतन्त्र भैरहेको बताए।
नेकपाको सरकारबाट जनताले धेरै ठूलो अपेक्षा गरेको भएपनि सरकारले भ्रष्टाचार बाहेक केही दिन नसकेको आरोप थापाले लगाए। थापाले भने, ‘लामो समयको राजनीतिक संक्रमण र अस्थिरताबाट वाक्कदिक्क भएका जनताले कम्युनिष्ट पार्टीलाई झण्डै दुई तिहाई बहुमत प्रदान गरे। तर, दुःखका साथ भन्नुपर्छ अहिले देशको सबैभन्दा ठूलो चुनौति भ्रष्टाचार बनेको छ।’
तत्कालिन नेकपा माओवादी नेतृत्वले आफ्नै लडाकुको निमित्त राज्य कोषबाट प्राप्त भएको अर्बौं रकममा गरेको घोटालाबाट सुरु भएको भ्रष्टाचारको यात्रा अहिले अत्यन्त ब्यापक र बिकराल भएको थापाले बताए। अहिलेको सरकारले लुटतन्त्रलाई संस्थागत गरेको आरोप थापाको छ।