समतामूलक समाजका महिलामा पनि उच्च पद पुगेपछि नाटकीय रुपमा सम्बन्ध विच्छेदको सम्भावना बढी हुन्छ। तर पुरुषका हकमा भने यो लागू हुँदैन किन?
एउटा रोमान्टिक र सफल सम्बन्धसँगै सुखद भविष्य बनाउनु हामीमध्ये धेरैको जीवन लक्ष्य हुन सक्छ। तर, आफ्नो करिअरमा असीमित उडान भर्न चाहने महिलाका लागि स्थिर जीवनसाथी फेला पार्न निकै मुस्किल छ-लैंगिक समानता अधिक भएका मुलुकमा समेत। पुरुषका लागि भने यस्तो समस्या देखिँदैन।
युरोपेली मुलुकमध्ये स्विडेन लैंगिक समानता सूचीमा पहिलो नम्बरमा छ। जागिरे अभिभावकलाई पर्याप्त बिदा, बालबालिकाको हेरचाह गर्ने राम्रा र सहुलियतपूर्ण स्याहार केन्द्र, कार्यथलोमा लचिलो व्यवस्थाजस्ता सुविधाले पनि समानताका लागि टेवा पुर्याएका छन्।
तर, स्विडेनमा महिलाले करिअरमा सफलता प्राप्त गरिरहँदा महँगो व्यक्तिगत मूल्य चुकाउनुपरेको अध्ययनले देखाएको छ। उच्च पदमा पुगेका महिला र पुरुषमा गरिएको एक अध्ययनमा महिलाले बढी सम्बन्ध विच्छेद गरेको पाइएको हो।
“राजनीतिमा पदोन्नतिले सम्बन्ध विच्छेदको सम्भावना बढाउँछ। तर, यो महिलामा मात्र लागू हुन्छ। महिला प्रमुख कार्यकारी अधिकृतको सम्बन्ध विच्छेदको दर पनि पुरुषको तुलनामा बढी छ,” स्टकहोम विश्वविद्यालयकी प्राध्यापक एवम् अध्ययनकी सह-लेखक जोहन्ना रिकन भन्छिन्।
सयभन्दा बढी कर्मचारी भएका निजी कम्पनीमा काम गर्ने महिला र पुरुषको वैवाहिक जीवनबारे गरिएको उक्त अध्ययनले संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति भएका महिलाको तीन वर्षभित्र सम्बन्ध विच्छेद हुने सम्भावना पुरुषको भन्दा दोब्बर हुने देखाएको छ।
सार्वजनिक पदमा रहेका महिलाका हकमा पनि यही कुरा लागू हुने रिकन बताउँछिन्। तीन दशकसम्मको घटना अध्ययन गर्दा महिला मेयर र सांसद अझ मथिल्ला पदमा नियुक्त भएपछि सम्बन्ध विच्छेदको सम्भावना पनि पुरुषहरुको भन्दा दोेब्बर रहेको अध्ययनले देखाएको छ।
स्विडेनमा गरिएको उक्त अध्ययनमा सहभागीमध्ये निर्वाचनको ८ वर्षपछि पनि मथिल्ला तहमा नपुगेका ८५ प्रतिशत महिलाको वैवाहिक सम्बन्ध यथावत् रहेको पाइयो भने मथिल्लो तहमा पुगेका ७५ प्रतिशत महिलामात्र वैवाहिक सम्बन्ध यथावत् राख्न सफल भए। जबकि पुरुषको हकमा यस्तो केही पाइएन।
चिकित्सक, प्रहरी जस्ता क्षेत्रमा काम गरिरहेका महिलामा पनि यस्तै प्रवृत्ति देखिएको छ।
अध्ययनमा सहभागीमध्ये अधिकांशका सन्तानले बाबुआमाको सम्बन्ध विच्छेद हुने बेलासम्म घर छोडिसकेकाले उनीहरुको सम्बन्ध विच्छेदको कारण ‘साना बच्चा’ पनि थिएनन् भन्ने पुष्टि हुन्छ।
रिकन भन्छिन्, ‘‘स्वीडेनमा परिवार र करिअरमध्ये कुनै एक छनोट गर्नुपर्ने बाध्यता आउने खालको कानुनी र सामाजिक संरचना छैन। तर पनि जब महिला करिअरको सिँढी उक्लँदै जान्छन् तब परिवारको कथा बेग्लै बन्छ।’’
महिला र पुरुषका परम्परागत भूमिकामा परिवर्तन आउनेबित्तिकै धेरै दम्पतीले तनाव र संघर्ष महसुस गर्न थाल्छन्। सँगै बिताउने समय अभाव र घरभित्रको कामको विभाजनले पनि तनाव गराउन थाल्छ। जब महिलाको पदोन्नति भएर व्यस्तता बढ्छ यस्तो तनाव झन् दोब्बर भइदिन्छ।
अध्ययनमा सम्बन्ध विच्छेदको सुरुवात श्रीमानु वा श्रीमतीमध्ये कसले गर्छने भन्नेबारे खोज गरिएन। तर उच्च पदमा आसीन पुरुषका पत्नीलाई भन्दा उच्च पदमा रहेका महिलाका पतिलाई परिस्थितिको सामना गर्न गाह्रो हुन्छ। रिकनका अनुसार जब लैंगिक समानताको कुरा आउँछ, विवाहको बजार र श्रम बजारबीचमा तालमेल मिल्दैन। उनी भन्छिन्, “अहिले पनि पुरुषहरु श्रीमतीको करिअरमा मुख्य सहयोगीको भूमिका निर्वाह गर्न सहज मान्दैनन्।”
उनी यो अवस्थामा परिवर्तन आउन अझै निकै लामो समय लाग्ने बताउँछिन्। भन्छिन्, “अन्य देशहरु जो बढी समतामूलक अर्थतन्त्रतर्फ अगाडि बढिरहेका छन्, उनीहरूले यो अवस्थाबाट पाठ सिक्नुपर्छ।”
साझा चासो
३९ वर्षीया सर्लोट लजुंग स्विडेनमा लक्जरी बेड र फर्निचर उत्पादन गर्ने कम्पनीकी प्रमुख कार्यकारी हुन्। उनले सम्बन्ध विच्छेद भएका व्यक्तिका लागि अनलाइन सल्लाह मञ्च पनि सञ्चालन गर्छिन्। अनुसन्धानले आफ्नो समूहभित्र उच्च पदमा कार्यरत महिलाको आमचिन्तालाई देखाएको उनी बताउँछिन्।
उनी ठट्टा गर्दै भन्छिन्, “महिलाले आफ्नो करिअरमा जति प्रगति गर्दै जान्छन्, उनीहरुको सम्बन्ध विच्छेद हुने सम्भावना उत्तिकै बढ्छ।”
सार्लोटका दुई सन्तान सानै छँदा उनको सम्बन्ध विच्छेद भइसकेको थियो। दुई सन्तानको अभिभावकत्व निर्वाह र कार्यालयमा प्रमुख हुनुको दायित्व उनको वैवाहिक जीवनमा तनावको मुख्य कारण थियो।
उनका अनुसार धेरै यात्रा गर्नुपर्ने, लामो समयसम्म काममा व्यस्त हुनुपर्ने, उच्च सार्वजनिक प्रोफाइल जस्ता सीईओ हुनुको व्यावहारिक दायित्वका कारण महिला र उनका श्रीमान्बीच तनाव उत्पन्न हुन्छ। बच्चा नहुनेहरुले पनि यस्तो जटिल अवस्थाको सामना गर्नुपर्छ।
“यो एक खालको शक्तिको कुरा पनि हो-कसले प्यान्ट लगाउँछ, कसले धेरै पैसा कमाउँछ,” उनी भन्छिन्, “अचेल पुरुष पनि निकै सहयोगी देखिन्छन्, तपाईंका लागि बलियो खम्बा बनिदिन्छन् र, यो निकै राम्रो कुरा हो। तर, मलाई लाग्छ, जब कुरा अलिक अगाडि बढ्छ पुरुषलाई सामञ्जस्य मिलाउन निकै गाह्रो हुन्छ। यथार्थ बाहिर निस्कन्छ।”
सही जीवनसाथी छनोट
उसो भए उच्च पदमा पुग्ने लक्ष्य राखेका महिलाले करिअरमा सफलता प्राप्त भएपछि सम्बन्ध अस्थिर हुने सम्भावना कम गर्न के गर्नुपर्छ त?
रिकन भन्छिन्, “स्विडेन जस्तो समतामूलक समाजमा अहिले पनि महिलाहरु आफूभन्दा धेरै उमेरका पुरुषसँग विवाह गर्छन्, जसले उनीहरुभन्दा धेरै आम्दानी गर्छ। पारम्परिक परीकथामा जस्तै कुरा सिकाइन्छ-सम्भव भएसम्म धेरै कमाउने र सफल श्रीमान् खोज्नु।”
अर्कोतर्फ उच्च ओहोदामा पुगेका, धेरै आम्दानी गर्ने महिला पनि कम कमाइ गर्ने ‘हाउस हसब्यान्ड’ रुचाउँदैनन्। उनीहरु पनि आफूभन्दा अझ उच्च ओहोदा भएको श्रीमान् खोज्छन्। तर श्रम बजारको सम्भावना हेर्ने हो भने यो कुरा ठिक नहुन सक्छ। रिकन भन्छिन्, “सुरुबाटै समतामूलक सम्बन्धमा प्रवेश गर्ने कोसिस गर्नु नै राम्रो हो।”
अध्ययनले पदोन्नतिपछि सम्बन्ध विच्छेद त्यस्ता दम्पतीमा बढी देखियो जहाँ श्रीमतीको उमेर श्रीमान्को भन्दा निकै कम थियो। जब कि सन्तान स्याहारका लागि लामा-लामा छुट्टी पनि श्रीमतीले नै लिएकी थिइन्। स्विडेनमा यस्तो बिदा श्रीमान् र श्रीमती दुवैले बराबर लिन पाइने भए पनि।
सकारात्मक उदाहरण
३८ वर्षीय सार्लोट सुन्डेकर स्टकहोमको ग्लोबल एजुकेसन कम्पनीमा प्रमुख कार्यकारी अधिकृत भएको दुई वर्षपछि आमा बनिन्। सार्लोटका श्रीमान् क्रिस्चियन हेगम्यान ३१ वर्षका भए। सार्लोट आफ्नो सम्बन्ध टिकिरहनुमा हेगम्यानको कम उमेरलाई प्रमुख कारण ठान्छिन्। उनका अनुसार क्रिस्चियनलाई धेरै काम गर्ने र करियर सफल बनाउनुपर्ने दबाब भएन। त्यसैले उनले सम्बन्धलाई सकारात्मक बनाउने भूमिका खेले।
सार्लोट सुन्डेकर भन्छिन्, “ऊ नयाँ पुस्ताको पुरुष हो जसले पुरुष हुनुको परम्परागत सोचाइलाई चुनौती दिन्छ।” यद्यपि, उनीहरुको सम्बन्ध बलियो हुनुको प्रमुख कारण आइपरेका समस्या र चुनौतीबारे एकआपसमा इमानदारीपूर्वक र निरन्तर छलफल गर्नु नै हो भन्नेमा दुवै सहमत छन्।
क्रिस्चियन भन्छन्, “उनी सीईओ भएपछि बढेको व्यस्ततासँगै मैले समय नपाउँदा केही दुःखी थिएँ। तर पनि हामी दुवैले एकअर्कालाई बुझ्यौं, सकेसम्म कुरा गर्ने इमानदार प्रयास गर्यौं।”
सार्लोट सुन्डेकर सम्बन्ध जोगाइराख्न दीर्घकालीन दृष्टिकोण राख्नु जरुरी रहेको बताउँछिन्। भन्छिन्, “केही समयपछि क्रिस्चियन आफ्नो करिअर बनाउन केन्द्रित हुनेछन् भन्ने मलाई थाहा थियो। अहिले क्रिस्चियनले आफ्नै डिजाइन कन्सल्टेन्सी सुरु गरेका छन्। मैले आफ्नै व्यवसाय सम्हालेकी छु।” सुन्डेकरको संस्थाले अहिले महिला सशक्तीकरणका क्षेत्रमा थिंक ट्यांकको काम गरिरहेको छ।
सम्बन्ध विच्छेद गरिसकेकी सीईओ सार्लोट लजुंग महिलाको उच्च ओहोदामा पदोन्नति भएपछि दम्पतीले सामना गर्नुपर्ने साझा चुनौतीबारे जागरुकता बढ्दै जाँदा सम्बन्ध विच्छेदका घटना कम हुन सक्ने बताउँछिन्। परम्परागत लैंगिक भूमिकामा हुर्केका व्यक्ति पनि अचेल जागरुक देखिन थालेको उनको भनाइ छ।
“नारीवादी जामा लगाएर औंला ठड्याउनुअघि सावधान हुनैपर्छ, किनभने पुरुषलाई केहीले पनि व्यावहारिक परिवर्तनका लागि तयार बनाउन सकेको छैन,” उनी भन्छिन्, “परिवर्तनका लागि हामीले अझ धेरै विकल्पमा सोच्नुपर्छ र निरन्तर छलफल गर्दै सचेतता फैलाउनपर्छ।”
सम्बन्ध विच्छेदबाट बेफाइदा मात्र हुँदैन
सम्बन्ध विच्छेदका केही सकारात्मक पक्ष पनि छन्। अधिवक्ता मौली माल्म भन्छिन्, “युरोपियन युनियनका अन्य मुलुकका तुलनामा स्विडेनमा सम्बन्ध विच्छेदको दर बढी छ। तर, यो लैंगिक समानतासँग जोडिएको छ।” कार्यक्षेत्रमा महिलाको उच्च सहभागिता र सम्बन्ध विच्छेदपछि सन्तानको हेरचाहको दायित्व दुवैमा बराबर भएकाले पनि आपसी सम्बन्ध राम्रो नभएका दम्पतीलाई छुट्टिएर बस्न सहज बनाएको उनी बताउँछिन्।
स्क्यान्डिनेभियन मुलुकमा धेरै पटक विवाह गर्नु सामान्यजस्तै भइसकेको उनको अनुभव छ। उनी भन्छिन्, “स्विडेन त्यति धेरै धार्मिक पनि छैन। रमाइलो हुने भएकै कारण मानिसहरू विवाह गर्छन्, उत्सव मनाउँछन्। दाम्पत्य जीवन रमाइलो हुन सकेन भने जोडी छुट्टिन्छन्।”
अध्ययनमा उच्च पदमा पदोन्नति भएका महिलामा सम्बन्ध विच्छेदपछि पुनः विवाह गर्ने या प्रेम सम्बन्धमा रहने सम्भावना पुरुषको तुलनामा कम देखिएको छ।
अध्ययनअनुसार स्विडेनका महिला, पुरुष दुवैलाई राजनीतिक तथा व्यावसायिक क्षेत्रमा अघि बढ्न एकल जीवनले पनि सघाउ पुर्याएको छ।
रिकन भन्छिन्, “तपाईंको खुसी र सफलतामा जीवनसाथीको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ। तर, अब समाजले सम्बन्ध विच्छेदलाई सहज रुपमा लिन थालिसकेको छ। यो सकारात्मक पनि हो।”