काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे अध्ययन गर्न बनाएको कार्यदलले प्रतिवेदन बुझाएको छ।
कार्यदलले शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो।
एमसीसीबारे पार्टीभित्रै व्यापक विरोध भएपछि गत केन्द्रीय कमिटी बैठकले यसबारे अध्ययन गर्न पूर्व प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा ३ सदस्यीय कार्यदल बनाएको थियो।
कार्यदलमा खनालसहित एमसीसीको खुलेआम विरोध गर्दै आएका नेता भिम रावल तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य थिए।
कार्यदलले शुक्रबार बालुवाटारमा पुगेर अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको ओलीको सचिवालयले जनाएको छ।
पार्टीले कार्यदलको प्रतिवेदनमाथि अध्ययन गरे केही दिनमा धारणा सार्वजनिक गर्ने जनाइएको छ।