काठमाडौं– महाशिवरात्रिका अवसरमा आज दिउँसो २ः३० बजेसम्ममा करिब चार लाख दर्शनार्थीले पशुपतिनाथ मन्दिर प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष शिवरात्रिमा १० लाख बढी धार्मिक पर्यटक पशुपतिनाथको मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ। आज रातभर दर्शनार्थीका लागि पशुपतिका चारै ढोका खुला हुनेछ ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ ।
यस वर्ष विभिन्नथरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सिँगारिएको छ । मन्दिर क्षेत्रको सजावटका लागि केही भक्तजनले विदेशबाट समेत फूल मगाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथको दर्शनमा आउनुभएकी रमा शर्मा यसपटक विगतभन्दा बढी व्यवस्थित देखिए पनि स्वयंसेवक भनी बस्नेले आफ्ना मान्छे सहजै लाइनबाट छिराएको देखिएको बताए ।
पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनको व्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापन गरिएको छ ।
मन्दिर क्षेत्र प्रवेशका लागि मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक÷एक लाम गरी बाहिरीरुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।