बिहीबार, भदौ ४, २०८३

‘मान्छेजस्तै मातृभाषा पनि मर्दोरहेछ’

मातृभाषा दिवसमा संसारभरि उठ्ने साझा चिन्ता हो– मातृभाषाको जगेर्ना र लोप हुनबाट बचाउने जिम्मेवारी । प्रदेश–१ का भाषाशास्त्री प्राध्यापक टंक न्यौपाने भन्छन्– ‘मान्छेजस्तै मातृभाषा पनि मर्दोरहेछ ।’
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

इटहरी– आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस। सन् १९५२ मा बंगलादेशमा उठेको मातृभाषा आन्दोलनमा सहिद भएका ५ अभियन्ताको सम्मानमा मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।

संयुक्त रास्ट्र संघको शिक्षा, विज्ञान र संस्कृति सम्बन्धी काम गर्ने संस्था युनेस्कोले सन् १९९९ देखि हरेक फेब्रुअरी २१ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउने घोषणा गरेको हो । त्यसयता आजको दिनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रुपमा मनाइँदै आएको छ । यो वर्षको लागि दिवसको नारा ‘सीमाविहीन भाषाहरु’ तय गरिएको छ ।

मातृभाषा दिवसमा संसारभरि उठ्ने साझा चिन्ता हो– मातृभाषाको जगेर्ना र लोप हुनबाट बचाउने जिम्मेवारी । प्रदेश–१ का भाषाशास्त्री प्राध्यापक टंक न्यौपाने भन्छन्– ‘मान्छेजस्तै मातृभाषा पनि मर्दोरहेछ ।’

ज्ञानीमैयाँ कुसुन्डाको मृत्युले कुसुन्डा भाषाको अन्तिम एक स्पष्ट वक्ताको समेत मृत्यु भएको उदाहरण दिँदै न्यौपानेले मातृभाषा अल्पसंख्यकलाई मात्रै हैन, राम्रो जनसंख्या भएकोलाई पनि समस्या भएको बताउँछन् ।

‘अहिले नेपालका अल्पसंख्यक आदिवासी भाषाहरु मात्रै हैन, नेपाली भाषा नै कमजोर हुँदैछ,’ न्यौपाने भन्छन् । युनेस्कोले संसारका ६ हजार बढी भाषामा आधा भाषा यो शताब्दीको अन्त्यसम्ममा लोप हुने बताएको छ । यो तथ्यांक तथ्यपरक हुने भाषाशास्त्री न्यौपाने बताउँछन् ।

२०६० सालमा ‘आठपहरिया राईको भाषिक अध्ययन’ शीर्षकमा विद्यावारिधि गरेका न्यौपाने भन्छन्, ‘अहिले आठपहरियाकै संख्या घट्दैछ ।’ २०६८ को जनगणनामा ५४९० जना आठहपरिया भाषी रहेको तथ्यांक विभागको आंकडा छ । प्रदेश १ का १०६ भाषामा यो भाषा ४२ औँ ठूलो भाषा हो । तर, अहिले यो भाषा बोल्नेको संख्या घट्दो क्रममा छ ।

वैदेशिक रोजगार, बसाइँसराइदेखि अरु भाषाको प्रभावले आठपहरिया पनि घट्दै जाने जोखिम भएकोमा न्यौपाने चिन्तित छन् । भन्छन्, ‘एउटा भाषा मर्नु भनेको विश्वको एउटा अमूल्य मानवीय संस्कृति, सम्भता र सम्पदा मर्नु हो ।’

नेपालमा भएका सबै रैथाने भाषालाई नेपाली भाषा भन्न रुचाउने न्यौपानेले नेपाली भाषाको शब्दकोशमा रैथाने भाषाका शब्दहरु समावेश गर्ने कुरा धेरै लामो समयदेखि उठाउँदै आएका थिए । अहिले नेपाली शब्दकोशमा नेपालका भाषाका शब्दहरु संग्रहित हुन थालेका छन् ।

यो कुरामा खुसी न्यौपाने यतिले भने नपुग्ने बताउँछन् । मातृभाषाका प्रारम्भिक विद्यालय शिक्षा संचालनमा व्यापकता हुनुपर्ने, भाषाको अभिलेखिकरण र अनुसन्धानका कामहरु अत्यधिक हुनुपर्ने न्यौपानेको तर्क छ । भाषाको बलियो अभिलेखिकरण, अनुसन्धान र रेकर्ड भएकैले यहुदीहरुले हिब्रु जोगाएको न्यौपानेको तर्क छ ।

‘हामीले सबै मातृभाषा चाहेर पनि जोगाउन नसकिने विभिन्न देशका उदाहरण र नेपाली उदारहणले समेत देखाइसक्यो,’ २०३२ देखि निरन्तर प्राध्यापनमा सक्रिय न्यौपाने भन्छन्, ‘त्यसैले अभिलेखिकरण र अनुसन्धान बलियो बनाएर भाषाका सबै तथ्यहरुको रेकर्ड गरेर संरक्षण गर्नुपर्छ ।’

प्रकाशित: Feb 21, 2020| 14:57 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।