जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको अस्थायी राजधानी जनकपुर सहरलाई खुला मदिरामुक्त बनाउने उद्घोष गरेका छन्।
जनकपुरको धार्मिक महत्त्वलाई दृष्टिगत गरी प्रदेश सरकारले यस्तो तयारीसमेत गरिरहेको उनले बताएका छन्।
महाशिवरात्रिको अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले शुक्रबार जनकपुरमा आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन्।
“जनकपुरको विशेष धार्मिक महत्त्व छ, यहाँको महत्त्वलाई दृष्टिगत गर्दै खुला मदिरामुक्त सहर घोषणा गर्न प्रदेश सरकार गृहकार्यमा जुटिसकेको छ,” राउतले भने।
प्रदेश प्रहरी ऐन प्रदेशसभाबाट पारित भइ प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेको र प्रहरी हस्तान्तरण भएलगत्तै खुला मदिरामुक्त अभियान जनकपुरधामबाटै सुरु गरिने उनले बताए। जनकपुरधामबाट सुरु हुने अभियान क्रमशः प्रदेशभर लागू हुने उनको भनाइ थियो।
सेवा केन्द्रका सञ्चालिका सृजना देवीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले शान्तिविना विकास सम्भव नरहेकाले हरेक व्यक्तिलाई आफ्नै मनको शान्तिबाट सुरुवात गर्नुपर्ने बताए।
महाशिवरात्रिको अवसरमा राजयोग सेवा केन्द्रले शान्तिको कामना गर्दै जनकपुरमा शान्ति यात्रासमेत निकालेको छ।